भीम चौधरी/प्रतीक्षा जैशी
धनगढी, ७ जेठ
आउदो भाद्र २५ गते निल गाई तीन वर्षको हुदैछ । सालनालसहित टुहुरो अवस्थामा कैलालीको फूलवारी क्षेत्रमा भेटिएको थियो । स्थानीयले जंगलमा भेटेको निल गाई सव–डिभिजन कार्यालय मार्फत धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित घाइते तथा टुहुरा वन्यजन्तु उद्धार केन्द्र पु¥याईएको थियो ।
शिवपुरी सामुदायिक वन क्षेत्रभित्र एउटा छुट्टै स्थानमा निल गाई मजाले हुर्कदै छ । धनगढी उपमहानगरपालिकाका संस्थापक नगर प्रमुख नृपबहादुर वडको पहलमा स्थापना भएको घाइते तथा टुहुरा वन्यजन्तु उद्धार केन्द्रमा तीन पोथी चित्तल, एउटा वयस्क भाले चित्तल र एउटा सानो पाठो हुर्किरहेका छन् । गोदावरी नगरपालिकाको खैरानाबाट ल्याइएको भाले चित्तल तीन वर्ष पुग्दैछ । खैरानाका स्थानीयले गाईगोरु र बाख्रा चराउन जाँदा जंगलबाट पछिपछि लागेको आएको बच्चालाई स्थानीयले एक वर्ष पालेर केन्द्रमा पठाएका थिए । दुई पोथी अत्तरिया क्षेत्रबाट ल्याइएको थियो । केन्द्रको खोरमै जन्मिएको पाठो चित्तलको बच्चा जेठ १० गते तीन महिना पुग्दैछ ।
धार्मीक पर्यटकीय क्षेत्र शिवपुरी धामसंगै रहेको केन्द्रमा तीन वटा कछुवा छन् । जसमध्ये एउटा २५ किलोको कछुवा रहेको छ । केन्द्रभित्र बनाइएको पोखरीमा बस्ने गर्दछन् । धनगढीका एक होटेल व्यवसायीले २५ किलोको कछुवा केन्द्रमा ल्याएर छोडेका थिए । दुई वटा कछुवा भने डिभिजन वन कार्यालयले ल्याएका हुन् ।
बि.स. २०७७ सालमा स्थापना गरिएको केन्द्रमा डिभिजन वन कार्यालय कैलालीका तत्कालिन प्रमुख रामचन्द्र कडेलले दुई वटा खोर बनाईदिएका थिए । एउटा खोरमा चित्तल र अर्को खोरमा हाँस तथा संगै रहेको पोखरीमा कछुवा रहेका छन् ।
केन्द्रमा बनाइएको एउटा टहरामा चरी बाघ राखिएको छ । हावाहुरीले रुख ढालेर खसेपछि खोर भत्किने अवस्थामा छ ।
खोरसम्म पुग्नका लागि धनगढी उपमहानगरपालिकाले पेटी बनाइदिएको छ । जिल्लाको विभिन्न ठाउँबाट उद्धार गरिएका वन्यजन्तुलाई घाइते तथा टुहुरा वन्यजन्तुको उपचार, स्याहार केन्द्रमा गरिन्छ । ‘प्राकृतिक वातावरणमै वन्यजन्तुको उपचार, स्याहार र संरक्षण गर्नका लागि उद्धार केन्द्र बनाइएको हो । ‘मिनी जू’ मार्फत आयआर्जन गर्ने र संरक्षणको सन्देश दिने योजना जिल्ला वनको छ । तर, पछिल्लो समयमा जिल्ला वनको यस तर्फ ध्यान नगएको संरक्षणकर्मीहरुको गुनासो छ । गत वर्ष वडा नम्बर ४ को कार्यालयले ५० हजार छुट्याएको थियो शिवपुरी सामुदायिक वन उपभोक्ता समितिका कार्यालय सचिव लक्ष्मीदत्त बिष्टले भने, ‘यो वर्ष कसैले सहयोग गरेन ।’
कार्यालय सचिव लक्ष्मीदत्त बिष्टका अनुसार त्यहाँ रहेका जनावर लगायत हाँस, निल गाई, कछुवा र चरी बाघलाई खुवाउन कम्तीमा पाँच हजार जति खर्च लाग्छ । ‘सुसारेलाई बस्न बास दिएका छौ’ लक्ष्मीदत्त बिष्टले भने, ‘मासिक ६ हजार पाँच सय तलव दिनुपर्छ ।’ ‘कम्तीमा मासिक ५० किलो ब्राण्ड चाहिन्छ । भुसा र घाँस मिसाएर निल गाई र चित्तललाई खुवाउछौ’ बिष्टले भने, ‘दुई दिन बिराएर ब्रोइलर कुखुराको मासु खुवाउँछौ । मासु किन्न मासिक एक हजार आठ सय जति खर्च हुन्छ । हाँसका लागि कम्तीमा मासिक १० किलो गहुँ चाहिन्छ । अरु घरघरबाट ल्याएर खुवाउछौ ।’












