सुदूरपश्चिममा सवारी दुर्घटनामा एक सय ४५ गुमाए ज्यान


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, ७ जेष्ठ २०८१, १८:२४ मा प्रकाशित

हेल्लो संवाददाता
धनगढी, ७ जेठ
सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा सवारी दुर्घटनामा एक सय ४५ जनाले ज्यान गुमाएका छन् ।
चालु आर्थिक वर्षकोे साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा सवारी दुर्घटनामा एक सय १५ पुरुष, १० बालबालिका र २० महिलाले ज्यान गुमाएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा चार सय ५५ जना घाइते भएका छन ।
सो अवधिमा तीन सय ३८ सवारी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सो अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेको तथ्यांकले देखाएको छ ।
सो अवधिमा एक सय ७५ मोटरसाइकल, ३२ ट्रयाक्टर, ४४ जिप र कार, १८ बस, १८ साइकल रिक्सा, १६ टेम्पो, १४ ट्रक र ट्याङ्कर, सात टिप्पर, सात माइक्रो र तीन वटा डोजर दुर्घटनामा परेका हुन् ।
गत वर्ष प्रदेशमा दुई सय ५५ सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा एक सय ७७ जनाले ज्यान गुमाएका थिए । गत वर्ष एक सय ९७ जना दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए भने दुई सय ७६ जना सामान्य घाइते भएका थिए ।
ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरीले साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा ट्राफिक नियम उल्लघंन गर्ने सवारी चालकलाई कारबाही गरेर उक्त राजस्व संकलन गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायव उपरीक्षक अनिलकुमार उप्रेतीले बताए ।

छुटाउनुभयो कि ?