धनगढी, ३१ वैशाख। सुदूरपश्चिमका दुई जिल्लाका तीन पालिकामा फोहर प्रशोधन केन्द्र निर्माणकार्य भइरहेको छ ।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा प्रदेशका दुई जिल्लाका तीन पालिकामा फोहर व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माणकार्य भइरहेको हो।
क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहर प्रशोधन केन्द्र निर्माण भइरहेको छ।
तीनवटै पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माणको काम जारी रहेको आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर सञ्जीव शाहले बताए। उनका अनुसार गोदावरी नगरपालिकामा निर्माणाधीन प्रशोधन केन्द्रको ८१ दशमलव ५ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।
उक्त प्रशोधन केन्द्रको निर्माण दुई वर्षमा सक्ने लक्ष्यसहित सिचुवान–प्रोभिन्स, जिवोलोजिकल इञ्जिनियरिङ कम्पलेक्स कम्पनी लिमिटेडले काम गरिरहेको छ। रु ५२ करोड ४८ लाखमा निर्माण भइरहेको प्रशोधन केन्द्र निर्माणपछि अत्तरिया बजारसहित पालिकाको फोहर व्यवस्थापनमा सहज हुने स्थानीयको भनाइ छ ।
त्यसैगरी धनगढी उपमहानगरपालिका–७ पटेलास्थित सामुदायिक वनको जग्गाप्राप्तिपछि हालै यहाँ प्रशोधन केन्द्र निर्माणको काम सुरूभएको इञ्जिनियर शाहले जानकारी दिए । “रुख कटान गर्न प्रक्रियागत कारणले केही ढिलाइ भएपनि अहिले सबै प्रक्रिया पूरा गरेर निर्माणस्थलमा रुख कटानको काम भइरहेको छ”, उनले भने । यहाँ पनि सोही चिनिया कम्पनीले दुई वर्षमा काम सक्ने गरी रु ८८ करोडमा ठेक्का पाएको छ ।
त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा निर्माणाधीन प्रशोधन केन्द्रमा पनि ५० प्रतिशत कार्यसम्पन्न भइसकेको छ । यहाँ रु ३० करोड २५ लाखमा रमन–केएस जेभीले निर्माण कार्य गरिरहेको र बीस महिनाभित्र कार्यसम्पन्न गर्ने सम्झौता रहेको इञ्जिनियर शाहले बताए । एडिबीले सुदूरपश्चिमका चार सहरमा सडक पूर्वाधार स्तरोन्नतिसहित आधुनिक सडक निर्माणमा सहयोग गरिरहेको छ ।
धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकालाई आधुनिक सहर बनाउने योजनासहित बजार क्षेत्रको पूर्वाधार निर्माण भइरहेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकाले भने फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गा उपलब्ध गराउन सकेन ।
शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले फोहरमैला व्यवस्थापन केन्द्र बने नगरको फोहर व्यवस्थापनमा निकै सघाउ पुग्ने विश्वास व्यक्त गरे । प्रशोधन केन्द्रमा स्वास्थ्यजन्य फोहरका लागि प्लान्ट थप्ने विषयमा पहल भइरहेको उनको भनाई छ ।












