प्यान र कर चुक्ता प्रमाणपत्रबिना मेडिकल काउन्सिलका प्रमाणपत्र नपाइने


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ११ मंसिर २०८३, १४:०८ मा प्रकाशित

नेपाल मेडिकल काउन्सिलबाट विभिन्न प्रकारका दर्ता प्रमाणपत्र, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन अब स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने भएको छ।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. सम्राट पराजुलीले प्रमाणपत्रका लागि आवेदन दिँदा आवश्यक थप कागजात अनिवार्य रूपमा पेस गर्न चिकित्सक तथा सेवाग्राहीलाई जानकारी गराएको बताउनुभयो । यो व्यवस्था मंसिर १५ गतेदेखि लागू हुनेछ।
डा.पराजुलीका अनुसार नेपाल सरकार, अर्थ मन्त्रालय तथा आन्तरिक राजस्व विभागले विभिन्न समयमा गरेको पत्राचार र आर्थिक वर्ष २०७९ र ८० को बजेट वक्तव्यको बुँदा नम्बर ३२१ मा भएको व्यवस्थाको कार्यान्वयनका लागि यस्तो निर्णय गरिएको हो।
उहाँका अनुसार काउन्सिलबाट जारी गरिने सबै प्रकारका प्रमाणपत्रका लागि स्थायी लेखा नम्बर तथा सोको प्रमाणपत्र र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ।
त्यस्तै, गुड स्ट्यान्डिङ प्रमाणपत्र लिनका लागि थप कागजात आवश्यक पर्नेछ। नेपालमा कार्यरत चिकित्सकले हाल कार्यरत संस्थाबाट जारी भएको आफू कार्यरत रहेको खुल्ने गरी रोजगारसम्बन्धी पत्र पेस गर्नुपर्नेछ।
काउन्सिलले विदेशमा कार्यरत चिकित्सकले भने सम्बन्धित देशको मेडिकल काउन्सिल वा नियमनकारी निकायबाट जारी गरिएको गुड स्ट्यान्डिङ प्रमाणपत्र पेस गर्नुपर्ने जनाएको छ।
काउन्सिलले उल्लेखित अवधिमा रोजगारीमा संलग्न नभएका चिकित्सकले सोको स्पष्ट जानकारी खुलाएर आवेदन दिनुपर्ने जनाएको छ।
पराजुलीले आवेदनमा उल्लेख गरिएका विवरण वा पेस गरिएका कागजात झुटा वा गलत भएको पाइएमा तथा सम्बन्धित अवधिमा रोजगारीमा संलग्न रहेको प्रमाण प्राप्त भएमा प्रचलित कानुन तथा सम्बन्धित नियमावलीबमोजिम आवश्यक कानुनी कारबाही गरिने बताउनुभयो ।

छुटाउनुभयो कि ?