ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङचुङगोलाका स्थानीयले टिपताला नाका सञ्चालन, अन्तरदेशीय वस्तु विनिमयको व्यवस्था र सीमापास परिचयपत्रको नवीकरण अवधि बढाउन सरकारसँग माग गरेका छन्।
ओलाङचुङगोला पुगेका जिल्लास्थित सुरक्षा अधिकारीसँग वडाध्यक्ष छेतेन वालुङ शेर्पाको समन्वयमा भएको छलफलमा स्थानीयले सीमावर्ती क्षेत्रका नागरिकले भोग्दै आएका समस्या राख्दै आवश्यक सहजीकरणका लागि आग्रह गरेका हुन्। छलफलमा स्थानीय दोर्जे शेर्पाले ओलाङचुङगोला हुँदै सदरमुकाम फुङ्लिङ जोड्ने सडक तथा ओलाङचुङगोलादेखि नेपाल–चीन सीमा क्षेत्र टिपताला जोड्ने सडक नियमित सञ्चालनको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले तीन देशलाई जोड्ने रणनीतिक महत्वको छोटो मार्ग भए पनि सडकको स्थायी सञ्चालनमा सरकारले पर्याप्त ध्यान दिन नसकेको बताउनुभयो।
त्यस्तै, स्थानीय नुपु शेर्पाले चीनको रिउ बजारमा स्थानीय उत्पादन बिक्री गर्न पाउने व्यवस्था मिलाउन र अन्तरदेशीय वस्तु विनिमयको बाटो खुलाउन माग गर्नुभयो । उहाँले सीमापास परिचयपत्रको नवीकरण अवधि एक वर्षबाट बढाएर पाँच वर्ष बनाउनु पर्ने बताउनुभयो।
स्थानीयको समस्या सुन्नुभएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले तमोर करिडोरअन्तर्गत सुभाङखोला–दोभान–ओलाङचुङगोला सडक सबै हिसाबले महत्वपूर्ण रहेको बताउनुभयो । सडक सञ्चालनको प्रक्रिया अघि बढाउन आफूहरूले सहजीकरण गरिरहेको उहाँको भनाइ छ।
स्थानीयले उठाएका मागप्रति आफू संवेदनशील रहेको बताउँदै उहाँले आफ्नो क्षेत्राधिकारभित्र पर्ने समस्या तत्काल सम्बोधन गर्ने र माथिल्लो निकायबाट निर्णय हुनुपर्ने विषय सम्बन्धित निकायमा पठाउने जानकारी दिनुभयो।
सीमापास परिचयपत्रको नवीकरण अवधि तत्काल पाँच वर्ष बनाउने व्यवस्था नभए पनि सदरमुकाम आउन नसक्ने सेवाग्राहीको परिचयपत्र वडाध्यक्षमार्फत जिल्ला प्रशासन कार्यालयमा प्राप्त भए नवीकरण प्रक्रिया अघि बढाउन सकिने उहाँले बताउनुभयो।











