वीर अस्पतालका पुरानो र नयाँ भवनलाई जोड्ने गरी लिफ्टसहितको आकासे पुल निर्माण गरिने भएको छ । अस्पतालका दुई भवनबीच बिरामी तथा शय्या आवतजावतमा सहजता ल्याउने उद्देश्यले काठमाडौँ महानगरपालिकाको सहयोगमा पुल निर्माण गर्न लागिएको हो ।
पुलको बिहीबार काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले शिलान्यास गर्नुभयो । पुल निर्माणका लागि चार करोड ७१ लाख ३४ हजार ७२७ रुपियाँ लागत निर्धारण गरिएको छ ।
वीर अस्पतालका निर्देशक डा. विकास नेपालले अस्पतालका दुई भवनलाई सुरक्षित र सहज रूपमा जोड्न आकासे पुल निर्माण गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार पुलको दुवैतर्फ अस्पतालमा प्रयोग हुने शय्यासमेत सहज रूपमा आवतजावत गराउन सक्ने क्षमताका लिफ्ट जडान गरिने छन् ।
हाल अस्पतालका पुरानो र नयाँ भवनबीच महाबौद्धतर्फ जाने मूल सडक रहेकाले एउटा भवनबाट अर्को भवनमा बिरामी लैजान सडक पार गर्नुपर्ने बाध्यता छ । विशेषगरी मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा बिरामी स्थानान्तरण गर्दा बिरामी र स्वास्थ्यकर्मीले सडक पार गर्नुपर्ने अवस्था छ ।
आकासे पुल निर्माण भएपछि सडक पार गरेर बिरामी लैजानुपर्ने बाध्यता हट्ने र अस्पतालका दुई भवनबीचको आवतजावत सहज हुने निर्देशक डा. नेपालले बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलका दुवैतर्फ अस्पताल परिसरभित्रै लिफ्ट र भर्याङ निर्माण गरिने छ । लिफ्टबाट बिरामी, शय्या तथा अस्पतालका आवश्यक सामग्री एक भवनबाट अर्को भवनमा सहज रूपमा ओसारपसार गर्न सकिने उहाँले जानकारी दिनुभयो ।आकासे पुल निर्माणले अस्पतालको भौतिक पूर्वाधारमा सुधार हुनुका साथै उपचार सेवा व्यवस्थापन र बिरामीको आवागमन थप सहज हुने अस्पतालका निर्देशक डा. नेपालले बताउनुभयो ।











