तीन दशकसम्म सडक किनारको छाप्रो नै असरीदेवी ऋषिदेवको संसार थियो । घामपानी छेक्न बनाएको त्यही छाप्रोमा उहाँको परिवारले अनेक दुःख र अभावका दिन बितायो । न आफ्नो जग्गा थियो, न व्यवस्थित घर । छिमेकीको काम गरेर जीविका चलाउनुपर्ने बाध्यता थियो । काम गर्न नसकेको दिन गालीसमेत सहनुपथ्र्याे । अहिले भने उहाँको जीवन फेरिएको छ । गढी गाउँपालिका–३ मा आफ्नै जग्गामा बनेको घरमा उहाँको परिवार बस्न थालेको छ ।
६० वर्षको उमेरमा आफ्नै घरको आँगनमा उभिन पाउँदा असरीदेवीलाई जीवनकै ठुलो उपलब्धि हासिल भए जस्तो लागेको छ । उहाँ भन्नुहुन्छ, “बर्सांैदेखि सडकछेउमा बस्दै आएका थियौँ । बुढेसकालमा आएर आफ्नै घरमा बस्न पाउँदा आनन्द लागेको छ । यो घर सित्तैँमा बनेको भने होइन । असरीदेवीले घर निर्माण भएको जग्गा जीवन विकास संस्थाबाट ऋण लिएर खरिद गर्नुभएको हो । चार लाख रुपियाँका दरले जग्गा किन्दा आधा रकम आफैँले जुटाउनुभयो भने आधा रकम संस्थाबाट ऋण लिनुभयो । दुई लाख रुपियाँ ऋणको मासिक पाँच हजार रुपियाँका दरले पाँच वर्षसम्म किस्ता बुझाएको उहाँको भनाइ छ ।
असरीदेवीको जस्तै कथा गढी गाउँपालिका–२ र ३ का विभिन्न बस्तीमा भेटिन्छ । कुनै समय सडककिनार, खोलाको डिल र ऐलानी जग्गामा अस्थायी छाप्रो बनाएर बस्न बाध्य परिवार अहिले आफ्नै घरमा बस्न थालेका छन् । गढी गाउँपालिकाका चार स्थानमा सुकुमवासी, अव्यवस्थित बसोबासी तथा दलित समुदायका परिवारका लागि ८५ घर निर्माण भएपछि उनीहरूको बसोबासमा परिवर्तन आएको हो ।
बर्सौंदेखि सडक किनार, विद्यालयको जग्गा तथा अरूको जमिनमा अस्थायी टहरा बनाएर बस्दै आएका विपन्न परिवारले सुरक्षित आवास पाउन थालेका छन् । सुनसरीको गढी गाउँपालिकामा स्थानीय सरकार र सामाजिक संस्थाको साझेदारीमा सञ्चालन भइरहेको आवास निर्माण कार्यव्रmमले घरविहीन तथा जोखिमपूर्ण अवस्थामा बस्दै आएका परिवारलाई आफ्नै सुरक्षित छानामुनि बस्ने व्यवस्था मिलाउँदै आएको गढी गाउँपालिकाले जनाएको छ ।
हैबिटाट फर ह्युम्यानिटी नेपाल र सङ्कल्प नेपालको साझेदारी तथा गढी गाउँपालिकाको सहकार्यमा तीन वर्षदेखि आवास निर्माण कार्यव्रmम सञ्चालन भइरहेको गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईंले बताउनुभयो । उहाँका अनुसार आवास निर्माणमा गाउँपालिकाले ४० प्रतिशत र साझेदार संस्थाले ६० प्रतिशत लगानी गर्ने व्यवस्था छ । कार्यव्रmम अन्तर्गत गाउँपालिकाको वडा नं. २ र ३ मा गरी ६६ वटा घर निर्माण भइसकेका छन् भने चालु आर्थिक वर्षमा वडा नं. ५ मा थप २१ वटा घर निर्माण गर्ने तयारी गरिएको गुरागाईंले जनाउनुभयो । घर निर्माणमा गाउँपालिका र संस्थाको लगानी मोडेल अनुसार फरक रहेको सङ्कल्प नेपालका प्रतिनिधि लखन साहले बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक चरणमा प्रतिघर निर्माणमा करिब चार लाख ५० हजार रुपियाँ खर्च हुने गरेकोमा पछिल्लो मोडेलमा बाथरुमलगायत संरचना थपिँदा लागत बढेको छ । नयाँ मोडेलमा गाउँपालिकाले प्रतिघर दुई लाख ६५ हजार र संस्थाले दुई लाख २५ हजारदेखि दुई लाख ६० हजार रुपियाँसम्म लगानी गर्ने गरेको साहले बताउनुभयो ।
हैबिटाट फर ह्युम्यानिटी नेपालले सङ्कल्प नेपालमार्फत उपभोक्ता समितिलाई रकम उपलब्ध गराउँदै आएको बताइएको छ । गाउँपालिकाले पनि आफ्नो हिस्साको रकम उपलब्ध गराउँदै आएको साहले बताउनुभयो । पछिल्लो चरणमा निर्माणलाई व्यवस्थित बनाउन गाउँपालिकाको हिस्साको काम ठेक्का प्रव्रिmयाबाट अघि बढाउने तयारी थालिएको बताइएको छ । गढी गाउँपालिका–२ को औराबनी क्षेत्रमा निर्माण गरिएका घरका लागि गाउँपालिकाले जग्गासमेत उपलब्ध गराएको छ । चालु आवमा निर्माण हुन लागेका घर लाभग्राहीकै नाममा रहेको जग्गामा बन्ने जनाइएको छ ।
कार्यव्रmमबाट मुख्यतः ऋषिदेव, उराँव, मोची तथा थारू समुदायका विपन्न परिवार लाभान्वित भएका छन् । सडककिनार, विद्यालयको जग्गा र सार्वजनिक स्थानमा जोखिमपूर्ण रूपमा बस्दै आएका परिवारलाई प्राथमिकतामा राखिएको सङ्कल्प नेपालले जनाएको छ । सङ्कल्प नेपालले सुनसरीका छ वटै गाउँपालिकामा कार्यव्रmम विस्तार गर्ने लक्ष्य राखेको प्रतिनिधि साहले बताउनुभयो । संस्थाले सामान्यतया वार्षिक ५० वटा घर निर्माण गर्ने लक्ष्य लिएको जनाइएको छ ।











