पूर्णता पाउँदै दोधारा–चाँदनी सुक्खा बन्दरगाह


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, ९ मंसिर २०८३, ११:४५ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोधारा–चाँदनी सुक्खा बन्दरगाहसँग जोडिएको भारतको वनबासामा निर्माण हुने एकीकृत जाँच चौकी (आइसिपी) को संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ ।
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय वार्तापछि भर्चुअल माध्यमबाट अन्य आयोजनासँगै भारतको उत्तराखण्डस्थित वनबासामा निर्माण हुने एकीकृत जाँच चौकी (आइसिपी) को पनि शिलान्यास गर्नुभएको हो । वनबासामा निर्माण हुने एकीकृत जाँच चौकी कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहसँग सम्बन्धित भारतीयतर्फको पूर्वाधार हो । नेपालतर्फ सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी निर्माणको काम यसअघि नै सुरु भइसकेको छ । नेपाल र भारत दुवैतर्फ आवश्यक पूर्वाधार निर्माण भएपछि सीमापार व्यापार, पारवहन तथा मालसामानको आवागमन थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका सूचना अधिकारी हरिकृष्ण मिश्रका अनुसार र नेपालतर्फ दोधारा चाँदनीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाहको काम तीव्र गतिमा भइरहेको छ । भारतीयतर्फ पनि एकीकृत जाँच चौकी निर्माणको शिलान्यास भई काम सुरु हुने भएपछि आयोजना सम्पन्न हुने आधार थप बलियो भएको उहाँले बताउनुभयो ।
दुवै देशतर्फ एकैसाथ आवश्यक पूर्वाधार निर्माण भएपछि दोधारा चाँदनी सुक्खा बन्दरगाह सञ्चालनमा ल्याउन सहज हुने छ । सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका उद्योगी, व्यवसायी तथा आयातनिर्यातकर्तालाई भारतीय बन्दरगाह र अन्य व्यापारिक केन्द्रसँगको सम्पर्कमा सहजता हुने छ । यसबाट ढुवानी तथा पारवहन लागत घट्नुका साथै सीमापार व्यापार व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
दोधारा–चाँदनीको ३५ प्रतिशत काम सम्पन्न
दोधारा–चाँदनी नगरपालिका–१ स्थित मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन सो पूर्वाधार निर्माणको जिम्मा भारतीय कम्पनी कम्ट कन्स्ट्रक्सन प्रालिले पाएको छ । हालसम्म बन्दरगाह परिसरमा घेरबार, भवनका आधारभूत संरचना, आवासीय भवन तथा अन्य पूर्वाधार निर्माणको काम भइरहेको छ ।
निर्माण सुरु भएको ११ महिना भएको र सम्झौता अनुसार ३० महिनाभित्र आयोजना सम्पन्न गर्नुपर्ने भए पनि अबको आठदेखि नौ महिनाभित्रै काम सक्ने लक्ष्यका साथ निर्माणलाई तीव्रता दिइएको ठेकेदार कम्पनीका प्रतिनिधि तेजबहादुर चन्दले जानकारी दिनुभयो ।
करिब २८० बिघा क्षेत्रफलमा फैलिएको बन्दरगाह निर्माणका लागि भारत सरकारले दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपियाँ लगानी गरेको छ । आयोजना निर्माणका लागि गौरीशङ्कर सामुदायिक वन क्षेत्रका एक हजार ७०५ रुख कटानी गरिएको थियो ।
बन्दरगाह परिसरमा आयातका लागि सात हजार वर्गमिटर र निर्यातका लागि दुई हजार पाँच सय वर्गमिटर क्षेत्रफलका दुई ठुला गोदाम निर्माण गरिँदै छन् । यसका अतिरिक्त भन्सार जाँच, क्वारेन्टाइन, अध्यागमन र सुरक्षा निकायका भवनलगायतका संरचना निर्माण भइरहेका छन् ।
बन्दरगाहलाई जोड्ने महाकाली नदीमाथि चार लेनको पक्की पुल र छ लेनको पहुँच मार्ग निर्माण तनि वर्षअघि नै भइसकेको छ । भारततर्फ पनि सीमाबाट करिब दुई सय मिटरको दुरीमा एकीकृत जाँच चौकी तथा पहुँच सडक निर्माणको काम अघि बढाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कञ्चनपुरका अध्यक्ष दिनेश मल्लले बन्दरगाह सञ्चालनमा आएपछि सुदूरपश्चिमको मात्र नभई मुलुककै वैदेशिक व्यापार र पर्यटनको क्षेत्रमा सकारात्मक परिवर्तन आउने बताउनुभयो । उहाँका अनुसार भारतको राजधानी नयाँ दिल्ली, उत्तर प्रदेश तथा उत्तराखण्डको रुद्रपुरस्थित औद्योगिक क्षेत्रसँग सहज व्यापारिक पहुँच स्थापित हुने छ । साथै भारतको गुजरातस्थित मुन्द्रा, काङ्गला र मुम्बईको जवाहरलाल नेहरू बन्दरगाहसम्मको व्यापारिक मार्गसमेत सहज बन्ने अपेक्षा गरिएको छ ।
हाल भारतका औद्योगिक क्षेत्रबाट सामान आयात गर्दा करिब तीन सय किलो मिटर घुमेर ल्याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले बन्दरगाह सञ्चालन पछि ढुवानी दुरी, समय र लागत घट्ने बताउनुभयो । यद्यपि ठुला मालवाहक सवारीसाधनको आवागमन सहज बनाउन नेपालतर्फका राजमार्ग विस्तार र स्तरोन्नति गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

छुटाउनुभयो कि ?