दसौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा आजदेखि सुरु हुँदै छन् । कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मङ्सिर १६ गते हुने भए पनि केही खेलका प्रतिस्पर्धा भने उद्घाटनअघि नै सुरु हुन लागेका हुन् ।
प्रतियोगिताको पहिलो दिन पुरुष फुटबल, महिला क्रिकेट, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीका प्रतिस्पर्धा सञ्चालन हुनेछन् । पुरुष क्रिकेटको प्रतिस्पर्धा भने मङ्सिर १० गतेदेखि सुरु हुने गरी तालिका परिवर्तन गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगितामा समावेश कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा सञ्चालन हुनेछन् । बाँकी खेल कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र रुकुम पश्चिम तथा लुम्बिनी प्रदेशका बाँके र बर्दियालगायतका जिल्लामा आयोजना गरिनेछन् ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका ३८४ इभेन्ट्समा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
यस संस्करणदेखि रजत र कांस्य पदक विजेतालाई पनि पहिलो पटक नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा मङ्सिर १६ गते हुनेछ भने मङ्सिर २७ गते समापन गरिने कार्यक्रम रहेको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।











