कारागारमा क्षमताभन्दा तीन गुणा कैदीबन्दी


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, ९ मंसिर २०८३, ११:४१ मा प्रकाशित

कञ्चनपुर कारागारमा क्षमताभन्दा झन्डै तीन गुणा बढी कैदीबन्दी राखिँदा व्यवस्थापनमा समस्या भएको छ । सीमित भौतिक संरचना र जनशक्तिकाबिच कैदीबन्दीको सङ्ख्या बढ्दै गएपछि उनीहरूको बसोबास, खानपान, सरसफाइ तथा स्वास्थ्य उपचारमा समस्या देखिएको हो । कञ्चनपुर कारागारमा पुरुषतर्फ १२५ जना र महिलातर्फ १६ जना गरी कुल १४१ जना राख्ने क्षमता छ तर हाल कारागारमा ३८८ पुरुष र १६ महिला गरी ४०४ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा २६३ जना बढी कैदीबन्दी राख्नुपर्दा उपलब्ध स्रोतसाधनले व्यवस्थापन गर्न कठिन भइरहेको कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासक धर्मराज उपाध्यायका अनुसार जीर्ण भवन, साघुँरो बसोबास, सरसफाइ, खानपान र स्वास्थ्य उपचारमा कैदीबन्दीले विभिन्न समस्या भोग्नु परेको छ । कैदीबन्दीको अत्यधिक चापका कारण दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिलालाई थप समस्या हुने गरेको उहाँले बताउनुभयो ।
कारागारमा सबैभन्दा बढी लागुऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी रहेका छन् । यससम्बन्धी मुद्दामा १६१ जना रहेका छन् । त्यस्तै जबरजस्ती करणी तथा उद्योगसम्बन्धी मुद्दामा ८२ जना, चोरीमा ५० जना र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा ४४ जना रहेका छन् । यसबाहेक ज्यान मार्ने उद्योग, बहुविवाह, अपहरण, अभद्र व्यवहार, वन्यजन्तुसम्बन्धी कसुर, बैङ्क ठगी तथा सवारी ज्यानलगायतका मुद्दाका कैदीबन्दी पनि कारागारमा छन् ।
कारागारमा रहेका ४०४ जनामध्ये ३७७ जना नेपाली कैदीबन्दी र १२ जना विदेशी नागरिक रहेका छन् । नेपालीतर्फ १४८ पुरुष र आठ महिला कैदी तथा २२९ पुरुष र सात महिला थुनुवा छन् । विदेशीमध्ये नौ जना कैदी र तीन जना थुनुवा रहेका छन् । कारागारमा ६५ वर्ष उमेर नाघेका चार जना कैदीसमेत छन् ।
कैदीबन्दीको सङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सेवा पनि प्रभावकारी बनाउन नसकिएको कारागार प्रशासनको भनाइ छ । हाल अहेव छैटौँ तहको दरबन्दी रहे पनि बिरामीको चाप अनुसार चिकित्सकसहितको स्वास्थ्य जनशक्ति आवश्यक रहेको कारागार प्रशासक उपाध्यायले बताउनुभयो । उहाँका अनुसार कारागारभित्रै प्रयोगशालासहितको स्वास्थ्य उपचार सुविधा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । कुनै पनि शीर्षकमा पर्याप्त बजेट नहुँदा कार्यालय व्यवस्थापनमा समेत समस्या हुने गरेको उहाँको भनाइ छ ।
कारागारमा सुरक्षाकर्मीसहित कर्मचारीको समेत अभाव रहेको छ । हाल २८ जना सुरक्षाकर्मी र एक जना अधिकृतसहित १० जना कर्मचारी कार्यरत छन् । तीमध्ये चार जना कार्यालय सहयोगी रहेका छन् ।
विसं २०२३/२४ मा स्थापना भएको कञ्चनपुर कारागार पाँच बिघा पाँच कट्ठा क्षेत्रफलमा फैलिएको छ । लामो समयदेखि पुरानै भौतिक संरचनाबाट सञ्चालन हुँदै आएको कारागारमा कैदीबन्दीको सङ्ख्या निरन्तर बढ्दै जाँदा संरचना विस्तार, स्वास्थ्य सेवा सुधार र जनशक्ति अभावले व्यवस्थापनमा समस्या भएको छ ।

छुटाउनुभयो कि ?