धनगढी, मंसिर ५ गते । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल हेर्न धनगढीमा दर्शक उर्लिएका छन् । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिचको उपाधि भिडन्त ठुलो पर्दामा हेर्नका लागि क्रिकेटको सहर धनगढीस्थित जेनजी मार्गमा दर्शक उर्लिएका हुन । घरेलु टोली सुदूरपश्चिम रोयल्सको समर्थनमा उनीहरुले हुटिङसमेत गरिरहेका छन् ।
लगातार तेस्रो पटक उपाधि नजिक पुगेपछि सुदूरपश्चिमले उपाधि भित्र्याउने अपेक्षा उनीहरुको छ । जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको छ ।
उसले जितका लागि सुदूरपश्चिमसामु १५६ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको छ । लुम्बिनी र सुदूरपश्चिम दोस्रो पटक उपाधिका लागि आमनेसामने छन् । दोस्रो संस्करणको एनपीएलको फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेर उपाधि चुमेको थियो ।
सुदूरपश्चिमलाई ८५ रनमै अलआउट गरेको लुम्बिनीले चार विकेटको नोक्सानमा नौ ओभरमै जित निकालेर उपाधि उचालेको थियो ।











