कैलालीमा हत्या मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १६ बैशाख २०८३, १७:१४ मा प्रकाशित

धनगढी । कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती र अस्थायी प्रहरी पोस्ट ओलानीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–११ ओलानीका ५९ वर्षीय काले कामीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले जग्गाको विषयमा विवाद हुँदा भएको हत्या घटनामा दोषी ठहर भएका कामीलाई बुधबार पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार कामीलाई अदालतले ११ असार २०५६ सालमा भएको उक्त घटनामा कैद सजाय सुनाएको थियो । उनी गोदावरी नगरपालिका–११ स्थित गौडी बजार क्षेत्रमा हिँडिरहेको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत कैलालीमा पेश गरिएको छ । प्रहरी अनुसन्धानका क्रममा कामी लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएको खुलेको छ । घटना पश्चात फरार रहेका उनलाई २७ वर्षपछि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?