धनगढी: सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागी प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर मुख्यमन्त्री कमलबहादुर शाहले अधिवेशन बोलाउन सिफारिस गरेका हुन् । प्रदेश प्रमुख निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, सरकारको आगामी प्राथमिकता र प्रदेशसभाको अधिवेशन आह्वानका विषयमा विस्तृत छलफल भएको बताइएको छ । भेटका क्रममा मुख्यमन्त्री शाहले प्रदेशसभा बैठक बोलाउने विषयलाई प्राथमिकतामा राख्दै अधिवेशन चाँडै सुरु गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैशाख १७ गते बिहीबार अपराह्न ४:०० बजे प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष औपचारिक सिफारिस गरेका छन् । उक्त सिफारिस अनुसार अब प्रदेश प्रमुखबाट अधिवेशन आह्वान हुने प्रक्रिया अघि बढ्नेछ । आगामी अधिवेशनमा नीति तथा कार्यक्रम, बजेट तयारी, विकास आयोजना, तथा जनसरोकारका विभिन्न विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ। साथै, सरकारका कामकारबाहीप्रति प्रतिपक्षको धारणा, सुझाव र आलोचनाले पनि अधिवेशनलाई थप अर्थपूर्ण बनाउने विश्वास गरिएको छ ।












