धनगढी: सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँले “नेपालमा सम्भावना छैन” भन्ने धारणा गलत रूपमा प्रस्तुत गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। धनगढीमा आयोजित नेपाल वितरक महासंघको १४औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले प्राकृतिक, आर्थिक तथा मानवीय स्रोतका हिसाबले समृद्ध देशलाई सम्भावनाहीन भन्नु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो । उहाँले विगतमा नेपाललाई भारतसँग तुलना गरेर “केही भएन” भन्ने प्रवृत्ति रहेको स्मरण गर्दै अहिले जापान, अमेरिका र अष्ट्रेलियासँग तुलना गरेर निराशा फैलाउने काम भइरहेको उल्लेख गर्नुभयो। “नेपालले विकासको गति समातेको धेरै समय भएको छैन, छोटो अवधिमै महत्वपूर्ण उपलब्धि हासिल भएका छन्,” उहाँले भन्नुभयो, “तर भएका कामभन्दा नभएका कामको प्रचार बढी भइरहेको छ।” प्रदेश प्रमुख मियाँले स्वदेशमै अवसर सिर्जना गर्न सकिने उल्लेख गर्दै देशभित्रै लगानी र रोजगारीका सम्भावना खोज्न आग्रह गर्नुभयो। कक्षा १२ पास गर्नेबित्तिकै युवा विदेश जाने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यस्तो प्रवृत्तिले देशको दीर्घकालीन विकासमा असर पार्ने बताउनुभयो। “विदेश गएर फर्किएर देशमै योगदान गर्नेहरू सम्मानका पात्र हुन्,” उहाँले भन्नुभयो, “तर सधैंका लागि देश छोड्ने प्रवृत्ति रोक्न आवश्यक छ।”












