नाकाको कडाइले बढ्यो भन्सार सङ्कलन


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १० बैशाख २०८३, ०९:५१ मा प्रकाशित

बेलौरी कञ्चनपुर, वैशाख १० गते । कञ्चनपुरका सीमानाकामा कडाइ गरिएसँगै भन्सारविन्दुमा हुने राजस्व सङ्कलन बढेको छ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला आठ दिनमै लक्ष्यको २५ प्रतिशत राजस्व असुली गरिएको हो । विगतमा लक्ष्य नै भेट्टाउन नसकेको भन्सारले राजस्व असुलीमा आएको सुधारपछि यस वर्ष भन्सार सङ्कलन बढ्ने अनुमान गरिएको छ । कार्यालयका सूचना अधिकारी चक्रदेव भट्टले वैशाख ८ सम्म एक करोड ५२ लाख राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । वैशाखमा छ करोड ८० लाख लक्ष्य राखिएकोमा राजस्व असुली दर बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो । यही गतिमा राजस्व सङ्कलन बढ्दै गए यो महिना लक्ष्यभन्दा बढी राजस्व उठ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । कार्यालयका अनुसार गत चैतमा पाँच करोड ८३ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा ९२ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो । गत चैतमा पाँच करोड ४१ लाख राजस्व असुल भएको सूचना अधिकारी भट्टले बताउनुभयो । त्यसै गरी गत फागुनमा लक्ष्यको २१ प्रतिशत कम अर्थात् ७९ प्रतिशत मात्रै राजस्व असुल भएको कार्यालयले जनाएको छ । नाकाहरूमा कडाइ गरेसँगै चोरीपैठारी पनि कम भएको कार्यालयले जनाएको छ । कार्यालयले अहिले यात्रुबाट एक सय रुपियाँभन्दा बढीको सामानमा भन्सार लिन सुरु गरेको छ । भन्सार असुली सकारात्मक रहे पनि विगत एक दशकयता भन्सारमा प्रयोग हुने एक्सरे मेसिन सञ्चालनमा नआउँदा चेकजाँचमा समय लाग्ने गरेको सूचना अधिकारी भट्टले बताउनुभयो । एक्सरे मेसिनमा खराबी आएपछि निर्माण हुन नसक्दा गैरकानुनी वस्तुमा निगरानी राख्न केही जटिलता भएको उहाँको भनाइ थियो । जनशक्ति अभाव हुँदा मसिन मर्मत गर्न नसकिएको उहाँले बताउनुभयो ।

छुटाउनुभयो कि ?