टीकापुर, वैशाख ४ गते । घर बनाउन काठका धुरीखाँबा गाडिएका छन् । केही काठ भुइँमै छन् । जस्ताले छाएको छाप्रोको भित्ता छैन । त्यहीँनेर सानो घुम्ती छ । त्यसभित्र थोरै किराना पसलका सामान छन् । बाहिर ४२ वर्षका सुरत लोहार ह्विलचेयरमा बसिरहनुहुन्छ । छ वर्षअघि भारतमा रोजगारी गर्दा टीकापुर नगरपालिका–२, राजीपुरका सुरत लुहारका दुवै खुट्टा गाडीमा च्यापिएपछि काटेरै फ्याक्नुपर्ने अवस्था आयो । आठ लाख रुपियाँ खर्चेर एक वर्ष उपचार गरेपछि घर फर्किनुभएका सुरतलाई देश परदेशमा रहेका साथीहरूले ३५ हजार रुपियाँको सामान र १३ हजार रुपियाँ नगद दिएपछि घुम्ती पसल सुरु गर्नुभएको थियो । विगत सम्झँदै उहाँ भन्नुहुन्छ, “२० वर्ष भारतको बसाइमा छोराछोरी पाल्न पढाउन ठिक्कै भयो । टेक्सटाइल कम्पनीमा काम पाएपछि मासिक ३० हजार रुपियाँ कमाइ हुन्थ्यो तर चार महिनामै दुर्घटनामा परेँ । कमाउने उमेर भइसकेको छोरो पनि बित्यो । हामी पो टुहुरा भयौँ ।” उहाँ भन्नुहुन्छ, “यही पसलबाट बिस्तारै ऋण तिर्दै थियौँ तर छोराको घाँटीमा समस्या देखियो । छोराको उपचारका लागि भारत लगेर धेरै ठाउँमा जँचाएपछि क्यान्सर देखियो । थप उपचारमा १२ लाखभन्दा बढी लाग्ने भनेपछि नेपाल ल्याएर चितवनमा तीन महिना उपचार भयो ।” उहाँले सत्रबर्से छोराको कोखामा भएको क्यान्सरको उपचारमा करिब १० लाख रुपियाँ जति खर्चे पनि बचाउन नसकिएको दुःखेसो पोख्नुभयो । त्यसपछि सुरतको जीवनमा दुःखमाथि दुःख थपियो । सुरतले छोराको उपचारका लागि लिनुभएको ऋणमध्ये तीन लाख रुपियाँ जति अझै तिर्न बाँकी छ । उहाँसँग तीन भाइको भाग लाग्ने सात कट्ठा जग्गा छ । त्यही जग्गा पनि आफन्तले बैङ्कमा धितो राखिदिएकाले आफूले धितोधरौट राख्न मिल्दैन । अपाङ्गता भत्ताबाट आउने रकम, घुम्ती पसलबाट भएको आम्दानी र अपुग रकम ज्वाइँसँग मागेर मासिक आठ हजार रुपियाँ लघुवित्तमा ऋण र किस्ता तिरिरहेको प्रतिमा बताउनुहुन्छ । लामो समयसम्म छोरा र श्रीमान्लाई स्याहार्दास्याहार्दै प्रतिमाको आफ्नै ज्यान रोगी भइसकेको छ । उहाँका हात सुन्निन थालेका छन् । उहाँमा छ वर्षदेखि देखिएको थाइराइडको पनि समयमा उपचार हुन नसक्दा घाँटीमा डल्लो पालेर बस्नुभएको छ । प्रतिमा भन्नुहुन्छ, “अहिले सबै कुरा टुटेको छ । छोराछोरीको खुसीका लागि रोजगारी गर्दागर्दै परदेशमा दुवै खुट्टा गुमे । परिवारको सहारा बन्छु भन्ने छोरा क्यान्सरले लग्यो । आफूलाई घाँटीमा थाइराइड छ ।” ऋण तिरिसकेर श्रीमतीको उपचार गर्नु र आफ्नै टाउको लुकाउने घर बनाउनु सुरतका लागि चुनौतीको पहाड छिचोल्नु जस्तै भएको छिमेकी झनक विश्वकर्मा बताउनुहुन्छ ।












