वासुलिङ, वैशाख ४ गते । बैतडीबाट विभिन्न औषधी तथा औद्योगिक प्रयोजनमा प्रयोग हुने करिब १० प्रकारका महत्वपूर्ण जडीबुटी निर्यात हुँदै आएको छ । बैतडीबाट लोक्ता (नेपाली कागज उत्पादनमा प्रयोग हुने), चुत्रो (स्थानीय भाषामा कृमडा), चिराइतो, तेजपत्ता, पाषाणभेद, सुगन्धवाल, तितेपाती, टिमुरलगायतका जडीबुटी निर्यात हुने गरेका छन् । बैतडीमा ३७५ वटा सामुदायिक वन र १७४ कबुलियत वन र ग्वालेक्ककेदार प्रस्तावित वन र सिगास प्रस्तावित वनसमेत गरेर ५४९ कायम गरिएका भए पनि तिनको नवीकरण तथा व्यवस्थापन प्रक्रिया भने प्रभावकारी देखिएको छैन । बैतडीमा करिब ४५ हजार ३२५.८ हेक्टर वन क्षेत्र रहेको छ । सरकारी कोटा अनुसार निःशुल्क नवीकरणको व्यवस्था भए पनि चालु आर्थिक वर्ष २०८२।८३ सम्म करिब एक सय वटा मात्रै वन नवीकरणका लागि आउने गरेका डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी नरेशचन्द्र कर्णले जानकारी दिनुभयो । जिल्लाबाट वार्षिक एक सय क्विन्टलभन्दा बढी जडीबुटी निकासी हुने गरेको र सोबाट करिब १२ लाख रुपियाँ जति राजस्व सङ्कलन हुने गरेको उहाँले जानकारी दिनुभयो । वनको संस्थागत व्यवस्थापन फितलो देखिएको बताउँदै कर्णले धेरै सामुदायिक वनमा समितिबाट आर्थिक अनियमितता हुने गरेको पाइएको जानकारी दिनुभयो । पञ्चेश्वर गाउँपालिका–४ स्थित ओल्यालामाडाँडा गुइला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दानसिंह टुकुरियाले उपभोक्ताबाट विभिन्न शीर्षकमा रकम उठाएर पदाधिकारीले दुरुपयोग गर्ने प्रवृत्ति व्यापक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक वनको मर्म नबुझी पहुँचका आधारमा नेतृत्वमा पुग्ने र समुदायको हितभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित हुने अवस्था छ ।’’ उहाँका अनुसार सुदूरपश्चिमका धेरै वनमा काठ कुहिएर नष्ट भइरहेको भए पनि स्थानीय उपभोक्ताले त्यसको उपयोग गर्न पाएका छैनन् । घाँस–दाउरा सङ्कलनमा समेत डर–धम्की देखाएर रकम असुल्ने प्रवृत्ति बढेको उहाँको भनाइ छ । सरकारले सामुदायिक वन मार्गदर्शन २०८१ अनुसार मापदण्ड पूरा गर्ने सामुदायिक वनलाई पुरस्कारको व्यवस्था गरेको छ । सामुदायिक वनको व्यवस्थापन उपभोक्ता समितिले गर्ने भए पनि यसको नियमन तथा अनुगमन डिभिजन वन कार्यालय बैतडीले गर्ने व्यवस्था रहेको कार्यालयका प्रमुख भक्तराज गिरीले जानकारी दिनुभयो । वन वातावरणीय सन्तुलन, मानव जीवन र सरकारी आम्दानीको महìवपूर्ण स्रोत भएकाले यसको संरक्षणमा सबैको साझा प्रयास आवश्यक रहेको उहाँले बताउनुभयो । साथै कार्यालयले बैतडीका विभिन्न स्थानमा टिमुर, तेजपत्ता र दाँते ओखरलगायतका जडीबुटी तथा फलफूलका बिरुवा रोपण अभियान सञ्चालन गरिरहेको जनाएको छ । यसैबिच वन्यजन्तु संरक्षणसम्बन्धी कानुन उल्लङ्घनका घटना पनि सार्वजनिक भएका छन् । दशरथचन्द नगरपालिका–२ स्थित निङ्लाशैनी भगवती मन्दिर परिसरमा देखिएको जरायोलाई केही स्थानीयले मारेको सूचनापछि प्रहरी र डिभिजन वन कार्यालय बैतडीको टोलीले संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको कर्णले बताउनुभयो । घटनामा संलग्नविरुद्ध वन्यजन्तु अवैध सिकारसम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।












