धनगढी । कैलालीका छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। टिकापुर नगरपालिका–९ बालुवाटारबाट २ ग्राम १२० मिलिग्राम लागूऔषधसहित टिकापुर–१ ब्लक नम्बर ९ बस्ने २० वर्षीय मुकेश बोहरा र सोही ठाउँ ब्लक नम्बर १३ बस्ने २५ वर्षीय महेश रावललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारेपछि आवश्यक प्रक्रिया पूरा गरी दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ। यसैगरी, लम्कीचुहा नगरपालिका–१ भुरुवाबाट १२० मिलिग्राम लागूऔषधसहित सोही ठाउँका १९ वर्षीय राजेश सोप बराललाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट समेत खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको थियो। पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












