बैतडी । पाटन नगरपालिका–३ का २६ वर्षीय नरेश कोलीको मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। आफन्तले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि पाटन–३ कै २६ वर्षीय दिपक भट्ट र ३२ वर्षीय दिनेश टेलरलाई मङ्गलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। नरेश यही चैत ४ गते बिहान पाटन नगरपालिका–६ स्थित भिटा नजिक सुर्नया नदी किनारमा मृत अवस्थामा फेला परेका थिए। अघिल्लो दिन उनी घरबाट पाटन बजार किनमेलका लागि निस्किएका थिए। राति अबेरसम्म पनि घर नफर्किएपछि उनका दाइले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि गरिएको खोजतलासका क्रममा चैत ४ गते बिहान करिब ८ बजेतिर उनको शव सुर्नया नदी किनारमा भेटिएको थियो। घटनापछि आफन्तहरूले नरेशको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन्। नरेशका बुवा सेरि कोली भारतमा रहेका कारण घटनाको तीन दिनपछि मात्रै जिल्ला अस्पताल पुगेका थिए। अस्पताल पुगेपछि उनले नरेशसँग अन्तिम पटक देखिएका व्यक्तिमाथि समेत गहिरो अनुसन्धान गर्न माग गरेका थिए। प्रहरीकाअनुसार घटना भएको दिन मृतक र पक्राउ परेका दुई जनाले पाटनको एक होटलमा सँगै मदिरा पिएका थिए । यसैबीच, आफन्तहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका छन्। प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।












