धनगढी: प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग प्रधानमन्त्री शाहले छलफल गरेका हुन् । छलफलका क्रममा सुदूरपश्चिमका सांसदहरूले प्रदेशको आवश्यकता, माग र समस्याबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । कैलाली–२ का प्रतिनिधिसभा सदस्य केपी खनालका अनुसार गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनबारे अधिकांश सांसदले कुरा उठाएका थिए ।‘गेटाको स्वास्थ्य विज्ञान विश्वविद्यालयका निम्ती केही दिनदेखि हामी मन्त्रालय धाउँदै आएका थियौं,’ सञ्चारकर्मीसंग कुराकानी गर्दै खनालले भने, ‘आज सबै मान्यज्यूबाट त्यसका लागि आवाज उठ्यो । त्यो आवाज छिट्टै पूरा हुने आशा लिएका छौं ।’ सुदूरपश्चिमका सात पहाडी जिल्लालाई धनगढी विमानस्थलसँग जोड्ने विषयमा पनि छलफल भएको खनालले बताए । सेती लोकमार्गको निर्माणबारे पनि प्रधानमन्त्रीसँग छलफल भएको खनालले बताए । कञ्चनपुर– ३ का सांसद ज्ञानेन्द्र महताले प्रधानमन्त्रीसँग छलफलपछि शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा यसै शैक्षिक सत्रबाट पढाइ सुरू हुने गरी काम अगाडि बढेको जानकारी दिए । छलफलमा रास्वपाबाट निर्वाचित कोमल ज्ञवाली, केपी खनाल, जगतप्रसाद जोशी, खेमराज कोइराला, आनन्द चन्द, जनकसिंह धामी, ज्ञानेन्द्र महता, डा तारा जोशी, हरिमोहन भण्डारी सहभागी थिए । यस्तै, कांग्रेसका सांसद जनकराज गिरी, भरतबहादुर खड्का, एमालेका ऐन महर, यज्ञ बोगटी लगायतको सहभागीता रहेको थियो ।












