धनगढी: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नौ वर्ष प्रवेशको उपलक्ष्यमा धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। कम्पनीको धनगढी रिजन–२ को आयोजनामा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो। धनगढी उपमहानगरपालिका–३ चटकपुरमा मंगलबार बिहान १० देखी २ बजेसम्म आयोजना गरिएको कार्यक्रममा विभिन्न पेशामा आवद्ध कर्मचारी, व्यवसायी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अभिकर्ता, ग्राहक, बैंकर, स्वास्थ कर्मचारी, व्यापारी तथा अन्य सहभागी गरी कुल ४६ जनाले रक्तदान गरेका थिए। कार्यक्रमबारे जानकारी दिँदै बजार अधिकृत बिनिता सुवेदीले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, प्रदेश प्रमुख गणेश उप्रेतीले कम्पनीले समाजमै आधारित रहेर व्यवसाय सञ्चालन गरिरहेको उल्लेख गर्दै सेवा भावनासहित समाजप्रति योगदान दिनु आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार कम्पनीले विगतका वर्षहरूदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ–संस्था तथा विद्यालयहरूलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ। यसै अभियानलाई निरन्तरता दिँदै देशभरका रिजन तथा प्रदेश कार्यालयमार्फत रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो।













