धनगढी , १० चैत / कैलाली क्षेत्र नम्बर ५ बाट चुनाव लडेका नरनारायण शाह ‘मनु’ अहिले आफ्नो एक विवादित अभिव्यक्तिले दोहोरो चेपुवामा परेका छन् । एकातिर उनले आर्थिक लेनदेन गरेको लिस्ट दिएको भनेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रेम आलेले उनलाई चुनौती दिइरहेका छन् भने अर्कोतर्फ कांग्रेसको प्रदेश महामन्त्री समेत रहेका उनलाई आफ्नै पार्टीले कठघरामा उभ्याएको छ । आइतबार सार्वजनिक भएको मनुको विवादित अभिव्यक्तिमा उनले कांग्रेसका जिम्मेवार पदमा रहेका ५७ जनाले पैसा खाएको लिस्ट आफूसँग रहेको बताएका थिए । ‘एउटा गजबको कुरा के छ भने जो चुनाव पराजित हुनु भएको थियो, तेस्रो स्थानमा आउनु भएको थियो, उहाँले आएर मलाई एउटा लिस्ट नै दिनुभयो’ मनुले उक्त विवादित बनेको अभिव्यक्तिमा भनेका छन् ‘तपाईँप्रति मेरो सद्भाव छ, सुवेक्षा सधैँ रहिरहने छ । तपाइका यी यी मान्छेले म सँग चाहिँ थोराभैत आर्थिक सहयोग लिएका हुन । तपाई आइन्दा यी मान्छेबाट सतर्क रहनुहोला । त्यसमा गजबको कुरा के छ भने ५७ जना मान्छेहरू जुन जिम्मेवार पदहरूमा रहेका छन् ।’ उनको अभिव्यक्तिपछि कांग्रेसले स्पष्ट पार्न प्रेस विज्ञप्ति नै जारी गरेको छ । जिल्ला सभापति नारायण दत्त भट्टद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेम आलेबाट आर्थिक लेनदेन गरेको भनेर लगाएको आरोप स्पष्ट पार्न माग गरिएको छ । ‘यही मिति २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ५ मा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेम आलेबाट आर्थिक लेनदेन गरेको भन्ने आरोपमा नेपाली काँग्रेस जिल्ला कार्य समिति कैलालीको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ‘कैलाली क्षेत्र नं. ५ प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार नरनारायण शाह (मनु) ले धनगढीबाट सञ्चालित समर्पण मिडियामा अन्तरवार्ता दिँदै नेपाली कांग्रेसका ५७ जना नेता कार्यकर्ताले आर्थिक लेनदेन गरी मत बदलेको कुरा सार्वजनिक भएको हुँदा सो कुरा स्पष्ट पारी जिम्मेवारी निर्वाह गर्न नेपाली काग्रेस कैलाली अनुरोध गर्दछ ।’ आलेले भने उनलाई आफूले लिस्ट दिएको पुष्टि गर्न चुनौती दिँदै उनको विवादित अभिव्यक्तिको भत्र्सना गरेका छन् । सोमबार आलेले आफ्नो फेसबुक मार्फत प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उनले मनुले आफूलाई मुछेर दिएको अभिव्यक्तिको भत्र्सना गरेका हुन । ‘यस प्रकारका आधारहीन आरोप मार्फत मेरो राजनीतिक छवि धुमिल पार्न खोजिएको कार्यप्रति म कडा शब्दमा भत्र्सना गर्दछु’ उनको विज्ञप्तिमा भनिएको छ ‘यी अभिव्यक्तिलाई जिम्मेवार पार्टीको उम्मेदवारले दिएको गैह्र–जिम्मेवार अभिव्यक्तिप्रति खुला चुनौती दिन चाहन्छु—यदि मैले कुनै व्यक्तिलाई पैसा दिएको नामावली उपलब्ध गराएको प्रमाण छ भने तत्काल सार्वजनिक गर्न चुनौती दिन्छु । अन्यथा, यस्ता झुटा आरोप फैलाउनेहरूमाथि म कानुनी उपचारको बाटो अपनाउन बाध्य हुनेछु । सत्य –तथ्य बाहिर ल्याउन र जनतामा भ्रम नफैलाउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु ।’ उनले आफू विगत देखि डोटीबाट चुनाव लड्दै आएको बताउँदै हाल कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिँदै गर्दा यहाँका कांग्रेसीका स्थानीय नेताहरूसँग सामान्य चिनजान समेत न्यून रहेको बताएका छन् । उनले यस्तो अवस्थामा ५७ जनाको नामावली उपलब्ध गराएको भन्ने कुरा शतप्रतिशत झुटो ,भ्रम फैलाउने र समाजलाई भाँड्ने प्रयास मात्र भएको बताएका छन् । यसबिच सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया सार्वजनिक गर्दै मनुले भने आलेले विवरण पठाइदिन्छु भनेको दावि गरेका छन । यसअघि लिस्ट दिएको बताएका उनले आलेले पैसा लिएको विवरण पठाइदिन्छु भन्दा आफूले आवश्यक नरहेको भनेको प्रतिक्रिया दिएका छन । उनले लेखेका छन ‘कुरैकुरामा यहाले मलाई तपाईका पार्टीका केही नेताहरुले मलाई सहयोग गरेका थिए र केहिले त आर्थिक सहयोग समेत पनि प्राप्त गरेको कुरा सुनाउनुको साथै मलाई आफ्नो मोबाईलमा रहेको च्याट हिस्ट्री समेत देखाएको यहालाई पुनः स्मरण गराउन चाहन्छु । तर यहाँले मलाई त्यसको विवरण पठाइदिन्छु भन्दा मैले मलाई अहिले आवश्यक नरहेको भनेकै पनि थिए । त्यसैकारणले मसँग त्यस्तो कुनै ठोस प्रमाण छैन पनि । तर सत्य कुरा बोल्नुपर्दा मैले यहाँ निर केही अप्रिय कुरा भन्नु परेकै हो । यहाँ मैले कुनै खराब नियतले तपाईंको बदनामी गर्न अथवा चरीत्र हत्या गर्न खोजेको होइन अथवा भ्रम छरेर समाज भाड्ने प्रयास पनि गरेको होइन ।’ कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका थिए भने कांग्रेस दोस्रो र नेकपा तेस्रो भएको थियो ।












