सुदूरपश्चिम प्रदेशमा क्षयरोगको अवस्था: पहाडी जिल्लामा अधिक चुनौती


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, १० चैत्र २०८२, ११:१६ मा प्रकाशित

धनगढी, १० चैत / सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रणको अवस्था अझै चुनौतीपूर्ण देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार जिल्लागत रूपमा लक्ष्य र उपलब्धिबीच उल्लेख्य अन्तर देखिएको छ भने केही जिल्लाले भने उल्लेखनीय सुधार गरेका छन्। प्रस्तुत तथ्यांकअनुसार प्रदेशभर कुल ६ हजार ५० जनालाई लक्ष्य निर्धारण गरिएकामा ३ हजार ६ सय भन्दा केही बढी जनामा मात्र उपचार उपलब्धि भएको देखिन्छ, जसले समग्र उपलब्धि करिब ६० प्रतिशत मात्रै रहेको संकेत गर्छ। यसले प्रदेशमा अझै ठूलो संख्यामा क्षयरोगी पहिचान र उपचारबाहिर रहेको देखाउँछ। जिल्लागत रूपमा हेर्दा कैलाली र कञ्चनपुरले सबैभन्दा राम्रो उपलब्धि हासिल गरेका छन्। कैलालीमा २ हजार ६४ जनाको लक्ष्यमध्ये १ हजार ५ सय १३ जनामा उपचार पुग्दा ७३ प्रतिशत उपलब्धि हासिल भएको छ भने कञ्चनपुरमा १ हजार १ सय ७३ लक्ष्यमा ९ सय ४२ जनाको उपचार हुँदै ८० प्रतिशत उपलब्धि देखिएको छ। यी दुई जिल्लाले अन्य जिल्लाको तुलनामा सन्तोषजनक प्रगति गरेका छन्। यता पहाडी जिल्लाहरूमा भने अवस्था कमजोर देखिएको छ। बाजुरामा ३१० लक्ष्यमा १४१ मात्र उपचार भई ४५ प्रतिशत उपलब्धि भएको छ भने डडेलधुरामा २९९ लक्ष्यमा ११२ मात्र उपचार भई ४७ प्रतिशत उपलब्धि देखिएको छ। त्यस्तै बैतडी (३८ प्रतिशत), अछाम (४० प्रतिशत) र दार्चुला (५९ प्रतिशत) मा पनि उपलब्धि न्यून रहेको छ। बझाङमा पनि ४१ प्रतिशत उपलब्धि देखिएको छ । यसैले लक्ष्यअनुसार अझै सुधार हुन भने पहाडी जिल्लामा धेरै चुनौती देखिएको छ। समग्रमा अधिकांश जिल्लामा ५० प्रतिशतभन्दा कम उपलब्धि देखिनुले क्षयरोग नियन्त्रण कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको संकेत गर्छ। स्वास्थ्यकर्मीका अनुसार समयमै पहिचान, जनचेतना अभाव, दुर्गम भूगोल र स्वास्थ्य सेवामा पहुँचको कमीले लक्ष्य प्राप्तिमा बाधा पुगेको छ। यस अवस्थामा समुदायस्तरमै सक्रिय खोज, नियमित परीक्षण र उपचार प्रणालीलाई अझ सुदृढ बनाउने आवश्यकता देखिएको छ। प्रदेशमा क्षयरोग उन्मूलनको लक्ष्य हासिल गर्न स्थानीय तह, स्वास्थ्य संस्था र सरोकारवाला निकायबीच समन्वय बढाउनुका साथै उच्च जोखिम समूहमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। आज विश्वभर विश्व क्षयरोग दिवस मनाइँदैछ। ‘हो; हामी क्षयरोग अन्त गर्छौं ; राष्ट्रिय अभियान, हाम्रो योगदान‌’ । भन्ने मूल नाराका साथ आज नेपालमा पनि क्षयरोग मनाइँदैछ।

छुटाउनुभयो कि ?