धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह माथि डिभिजनल वन अधिकृत डिएफओ बनाइदिने भन्दै कमिसन मागेको आरोप लागेको छ। वरिष्ठ डिभिजनल वन अधिकृत कृष्ण दत्त भट्टले मुख्यमन्त्री शाहले पाँच लाख रुपैयाँ कमिसन मागेको दाबी गरेका हुन्। एक अनलाइन अन्तर्वार्ताका क्रममा भट्टले आफूलाई रकम नदिएकै कारण छोटो अवधिमै पटक–पटक सरुवा गरिएको आरोप लगाए। उनका अनुसार मुख्यमन्त्री शाहले ‘पार्टी चलाउन सहयोग गर्नुपर्छ’ भन्दै आफूलाई रकम दिन दबाब दिएका थिए। भट्टले भने, “म मन्दिरमा गएर कसम खान पनि तयार छु, मुख्यमन्त्रीले कमिसन मागेकै हुन्। पाँच लाख रुपैयाँ दिन नसकेपछि मलाई धनगढी डिभिजन वन कार्यालयबाट हटाइयो।” उनका अनुसार आफूलाई एक वर्षको अवधिमा तीन पटकसम्म सरुवा गरिएको छ। हाल आफू दुई महिनादेखि होटलमा बस्दै आएको पनि उनले बताए। भट्टले प्रदेश सरकारभित्र सरुवा–बढुवा र विभिन्न योजनामा समेत कमिसनको चलन रहेको आरोप लगाउँदै यसले प्रदेश सरकारको छवि बिगारेको दाबी गरे। उनले नयाँ बन्ने सरकारलाई यस्ता विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन्। यता मुख्यमन्त्री शाहले भने आफूमाथि लगाइएको आरोप निराधार भएको प्रतिक्रिया दिएका छन्। उनले उक्त अन्तर्वार्ता आफूले पनि हेरेको उल्लेख गर्दै सम्बन्धित निकायले सत्यतथ्य छानबिन गर्नुपर्ने बताए। मुख्यमन्त्री शाहले भने, “यदि म दोषी ठहरिएँ भने कारबाही भोग्न तयार छु। तर आरोप झुटो भए आरोप लगाउनेलाई पनि कारबाही हुनुपर्छ।” उनले भट्टका विगतका केही अडियो तथा भिडियो विवादबारे पनि चर्चा गर्दै सार्वजनिक रूपमा आरोप लगाउनु उपयुक्त नभएको टिप्पणी गरे। “एउटा कर्मचारीले जथाभावी बोल्नु ठीक होइन, यो विषय कानुनी रूपमा टुंगिनुपर्छ,” उनले भने। हाल उक्त आरोप सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशको राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चा चुलिएको छ। सम्बन्धित निकायबाट निष्पक्ष छानबिनको माग पनि उठ्न थालेको छ।












