धनगढी । फागुन १९ गते मङ्गलबार साँझ नेपालका विभिन्न भागबाट खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ ।
यो ग्रहण विशेष किसिमको रहने बताइएको छ । वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्राध्यापक डा. जयन्त आचार्यका अनुसार चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिने भएकाले यसलाई दुर्लभ मानिएको हो । उनका अनुसार चन्द्रमा क्षितिजबाट माथि उठ्दै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छायाले ढाकिएको हुनेछ । साँझ ७ः०४ बजेपछि चन्द्रमा बिस्तारै पृथ्वीको मुख्य छायाबाट बाहिर निस्कने बताइएको छ । चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता पर्दैन । सूर्यग्रहणजस्तो आँखामा असर नगर्ने भएकाले खुला स्थानबाट नाङ्गो आँखाले सुरक्षित रूपमा अवलोकन गर्न सकिने आचार्यले बताए । नेपालबाट अब यस्तो खण्डग्रास सूर्यग्रहण भने विसं २०८४ मा मात्र देखिने जानकारी दिइएको छ ।












