पहाडी क्षेत्रहरूमा वसन्त ऋतुको आगमनसँगै फागु पर्व अर्थात् होलीको रौनक बढेको छ । आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोकेको यो पर्व हर्षोल्लासका साथ रङ्ग, अबीर र लोला खेली मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजयको प्रतीक तथा पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा होली मनाउने परम्परा रहँदै आएको छ । पुराण अनुसार हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल बाहिर निस्किएको प्रसंग उल्लेख छ । शक्तिको दुरुपयोग गर्ने होलिका नष्ट भएको स्मरणमा होलिकादहन (चीरदाह) गरी रङ्ग र अबीर लगाएर खुशीयाली साटासाट गर्ने चलन सुरु भएको मानिन्छ । बैतडीका विभिन्न विद्यालय, क्लब तथा आमा समूहहरूले सामूहिक रूपमा होली मनाइरहेका छन् । संस्कृति संरक्षणसँगै विद्यालय सञ्चालन खर्च जुटाउन पनि होली खेल्ने गरिएको छ । जिल्लाका अधिकांश विद्यालय निजी स्रोतमा सञ्चालन हुने भएकाले यस्ता कार्यक्रममार्फत संकलित रकमले शिक्षक तलब तथा अन्य खर्चको जोहो गर्ने गरिएको छ । दशरथचन्द नगरपालिका–१ स्थित सत्यम् शिवम् सुन्दरम् समाजले प्रत्येक वर्ष होली आयोजना गर्दै आएको छ । समाजका अध्यक्ष भुवन भट्टका अनुसार सांस्कृतिक संरक्षणसँगै सामाजिक कार्यका लागि पनि होली खेल्ने गरिएको छ ।
यस वर्ष निर्वाचन नजिक आएकाले होली पर्व संयमित रूपमा मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । कसैको इच्छा विपरीत रङ्ग नदल्न, लोला नहान्न तथा अबेरसम्म होली नखेल्न प्रशासनले अनुरोध गरेको छ ।












