बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, ३ जना घाइते, ५ जना पक्राउ


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १४ फाल्गुन २०८२, ११:०१ मा प्रकाशित

बैतडी — बैतडीको डिलासैनी गाउँपालिका–७ धामीगाउँको लेक टोलमा बुधबार साँझ नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते भएका छन् भने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। साँझ करिब ७ बजेर ५० मिनेटतिर घरदैलो कार्यक्रमका क्रममा विवाद चर्किँदा झडप भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। झडपमा परी घाइते हुनेमा डिलासैनी–७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी रहेका छन्। जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ। यस्तै, रास्वपाका लालसिंह धामी सामान्य घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रास्वपाका पाँच जना कार्यकर्तालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन।

छुटाउनुभयो कि ?