धनगढी, फागुन १३ गते । निर्वाचनको मुखमा नागरिक उन्मुक्ति पार्टी, नेपालका उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराउनुभएका उहाँ मङ्गलबार रास्वपामा प्रवेश गर्नुभएको हो । चकिया (जाँतो) चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिनुभएका चौधरी सम्भवतः अब आफैँलेसमेत आफ्नो चुनाव चिह्नमा भोट हाल्नुहुने छैन । रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारू, रास्वपाको क्षेत्र नम्बर ५ का उम्मेदवार आनन्दबहादुर चन्दले टीका, खादा लगाएर चौधरीलाई आफ्नो पार्टीमा स्वागत गर्नुभयो । चौधरी रास्वपामा प्रवेश गरे पनि नागरिक उन्मुक्ति पार्टीबाट उहाँको उम्मेदवारी भने कायम रहिरहने छ । विगतदेखि आफू लक्ष्मण थारू सँगसँगै एउटै दलबाट राजनीति गर्दै आएको र थारू समुदायको सवालमा रास्वपाले उठाएको एजेन्डा पनि मिलेकाले घण्टीलाई अङ्गाले उम्मेदवार चौधरीले बताउनुभयो । “विगतमा हामी नागरिक उन्मुक्ति पार्टीमा सँगसँगै थियौँ,” उहाँले भन्नुभयो, “लक्ष्मणजी रास्वपामा गएपछि म नागरिक उन्मुक्ति नेपालमा थिएँ तर रास्वपाले थारू समुदायको सवालमा उठाएको एजेन्डा मेल खाएकाले सँगसँगै रहनका लागि मैले पनि रास्वपा रोजेँ ।” अघिल्लो निर्वाचनमा कैलालीको तीन निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले जित हात पारेर आफ्नो बलियो उपस्थिति देखाएको थियो तर जसरी उदायो उन्मुक्ति, आन्तरिक विवादका कारण त्यसरी नै छोटो अवधिमै पतन हुँदै विभाजित भएको थियो । रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी, नेपाल गठन गरेर कैलालीको पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउनुभएको छ । क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी खारेज भएपछि चौधरीले अर्कैलाई अगाडि बढाउनुभएको छ ।












