हरिलाल जोशी
पुनर्वास, १२ असार ।
पुनर्वासका मनकारी सिद्धराजले बिओपी निर्माणका लागि पाँच कट्टा जमिन दानमा दिएका छन् ।
त्रिपालमुनिको अस्थायी टहरा बनाई जनताको सेवा गर्दै आएका सशस्त्र प्रहरीको बिओपी निर्माणका लागि कञ्चनपरको पुनर्वास नगरपालिका–८ का सिद्धराज ओझाले पाँच कट्टा जमिन दानमा दिएका हुन् ।
सरकारले सुरक्षा निकाय जस्तो निकायलाई व्यवस्थित गर्न नसकेको देख्दा आश्चर्य लागेपछि सरकारी मूल्य १२ लाख ५३ हजार बराबरको १९४३ कित्ता नम्बरको पाँच कट्टा जमिन आफुले दानमा दिएको जिकिर गरे ।
मनकारी ओझाले पुनर्वास–८ स्थित बागिश्वरी माध्यमिक विद्यालयका विपन्न, दुःखी र जेहेन्दार विद्यार्थीहरुका लागि ४५ हजारको अक्षयकोष निर्माण गरेका छन् ।
जमिन नभएर कार्यालय स्थापना नभएका सरकारी निकायका लागि अझै जमिन दान गर्न आफु तत्पर रहको उनले बताए ।
वि.सं. २०२८ सालदेखि बसोबास गर्दै आएका ओझा परिवार निरन्तर धार्मिक तथा सामाजिक कार्यमा अग्रसर परिवारका रुपमा चिनिन्छन् ।
ओझाका तीन छोरा छन् । जेठो नेपाल प्रहरीमा कार्यरत, माईलो अध्ययन्का क्रममा जापानमा र कान्छो ज्योतिष, शास्त्रीयसँगै हिन्दुत्वको अभियानकर्ताको रुपमा नेपालमै छन् ।
जमिनका लागि कंकड बिओपीका ईन्चार्ज प्रहरी नायब निरीक्षक करनसिंह धामीको पहलकदमीले सार्थकता पाएको छ ।












