धनगढीको तापक्रम ४४ डिग्री नाघ्यो, भोलिदेखि एक साता विद्यालय बन्द


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १७ जेष्ठ २०८१, १५:५० मा प्रकाशित

प्रतिक्षा जैशी
धनगढी, १७ जेठ
धनगढीका विद्यालयको पठनपाठन एक साता बन्द हुने भएको छ । जेठ १८ गतेदेखि २४ गतेसम्म धनगढी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयको पठनपाठन बन्द हुने भएको हो ।
धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले एक सूचना जारी गर्दै हाल बढ्दो अत्याधिक गर्मिको कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्येनजर गर्दै विद्यालयको पठनपाठन बन्द गरिएको उल्लेख छ ।
बिहीबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको अधिकतम् तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको हो ।
कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले दिउँसो मापन गरिएको रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसको रेकर्ड बिहीबार नै तोडिएको बताए ।
बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको मौसम तथा विज्ञान विभागले जनाएको छ । धनगढीमा अत्याधिक गर्मी बढेपछि जनजिवन प्रभावित भएको छ ।

छुटाउनुभयो कि ?