हेल्लो संवाददाता
धनगढी, ११ जेठ
पाँच बुदे घोषणा जारी पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशन एवम् चौथो साधारण तथा प्रदेश आमसञ्चार सम्मेलनमा सकिएको छ ।
पारित घोषणा पत्रमा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको सञ्चार ऐन वर्षे सभामै पारित गरी प्रदेशभित्र मिडियाको व्यवस्थापन र सहयोगका काम अघि बढाउन माग गरेको छ । यस्तै, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले निर्वाचन कार्यतालिका लागू हुने बेला भैसक्दा पनि सदस्यताको अन्तिम रुप नदिई शाखाका अधिवेशन गर्न नसकिने र शाखाले शुद्धिकरण र नवीकरण गरी सर्वसम्मतरुपमा प्रदेशमार्फत पठाएका सदस्यतालाई अन्तिम रुप दिई जेठ १३ गतेभित्र नाम सार्वजनिक गर्नुपर्ने जिल्ला शाखाको मागलाई यो साधारण सभा समर्थन गर्दछ घोषणा पत्रमा भनिएको छ ।
प्रदेशभित्रका सबै सञ्चार माध्यामहरु जनशक्ति र समाचार सामग्रीका हिसावले समावेशी बनाउन र श्रमिकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन घोषणा पत्रमा आग्रह गरिएको छ । एक व्यक्ति विभिन्न पेशामा संलग्न भई कार्य गर्दा पहिचान कै चुनौती रहेकाले व्यवसायिक मर्यादाभित्र रही सञ्चार कर्म गर्नहुन सबै पत्रकारहरुलाई आग्रह गरिएको छ ।
धनगढीमा भएको साधारण सभामा महासचिव रामसिंह ठगुन्नाद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष राम धामीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री दीर्घबहादुर साेंडारी प्रमुख अतिथी रहेको कार्यक्रममा नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिह रावल शिष्टि अतिथी रहेका थिए । सभाको उद्घाटन समारोहमा प्रदेश सभा सदस्य शिवसिंह ओली, पत्रकार मनमोहन स्वाँर, नेपाल आथिवासी जनजाति पत्रकार महासंघ प्रदेश अध्यक्ष रामलखन चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।












