आम्दानीको स्रोत बन्दै बगरखेती


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, ७ जेष्ठ २०८१, १८:०९ मा प्रकाशित

हेल्लो संवाददाता
कञ्चनपुर, ७ जेठ
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर जोड्ने वनहरा पुल छेउमा खरले बनेका स–साना छाप्रामा प्रशस्त ताजा तरकारी पाइन्छ ।
यहाँका विपन्न समुदायका नागरिकले राजमार्ग छेउमा रहेको बगरमा तरकारीखेती गरेर जीविकोपार्जन गर्दै आएका छन । पुस÷माघमा बगरमा रोपिएको तरकारी तयार भएपछि बेच्नका लागि हरेक वर्ष यसैगरी राजमार्ग छेउमा पसल थाप्ने गरेको किसान रामकृष्ण चौधरीले बताए ।
‘लागत कटाएर दुई लाखसम्म बचत हुनेगरेको चौधरीले बताए । उनले दुई बिघा पाँच कठ्ठा जग्गामा खेती गरेको बताए ।
कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर जोड्ने वनहरा पुल छेउमा झण्डै एकसय परिवार मुक्तकमैयाको बसोबास छ । कमैया मुक्तिको घोषणापछि पुनःस्थापना हुँदा सरकारले पाँच कठ्ठा जग्गा दिएको थियो। खोला किनारको बलौटे जग्गामा अन्न नफल्ने भएकाले यहाँका स्थानीयलाई साँझ बिहानको छाक टार्न निकै सकस हुने गर्दछ ।
परिवारको जोहो गर्नकै लागि बगरमा तरकारी खेती गर्नुपरेको मानमति रानाले बताइन । बगरखेतीबाट सिजनमा दुई लाखसम्म कमाइ हुने गरेको रानाले बताइन् ।
पहिले भारतीय नागरिक आएर बगर तथा खाली जमिनमा तरबुजा, काँक्रा, लौका, फर्सी लगायतका खेती गर्दथे । अहिले कञ्चनपुरमा त्यसरी तरकारी खेती गर्ने भारतीय नागरिक निकै कम हुँदै गएका छन । यसले एकातिर भारतबाट विषाक्त तरकारी आयात हुन रोकेको छ भने अर्कातिर नेपाली युवाहरुले रोजगारी पाएका छन ।

छुटाउनुभयो कि ?