सरकारको भन्सार नीतिलाई किराना व्यवसायी संघ कैलालीको समर्थन


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, ११ बैशाख २०८३, ०९:५१ मा प्रकाशित

धनगढी, १० वैशाख/नेपाल सरकारले सिमावर्ती नाकाबाट हुने चोरी पैठारी नियन्त्रण र राजस्व चुहावट रोक्न भन्सार प्रणालीमा १०० रुपैया भन्दा माथिका दैनिक उपभोग्य सामानमा कर असुल्ने प्रावधान लागु गरेकोमा किराना व्यवसायी संघ, धनगढीले पूर्ण समर्थन जनाएको छ। संघका अध्यक्ष देबराज पाण्डेयद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त निर्णयलाई अर्थतन्त्र सुदृढीकरणका लागि स्वागतयोग्य भनिएको छ। खुला नाका र चोरी पैठारी नियन्त्रणका लागि सरकारको यो कदमप्रति उच्च सम्मान सहित पूर्ण समर्थन जनाउँछौं, विज्ञप्तिमा उल्लेख छ। संघले सुदूरपश्चिमका सम्पूर्ण व्यवसायी र आम उपभोक्तालाई व्यक्तिगत स्वार्थ नहेरी सरकारको निर्णय सहर्ष स्वीकार गर्न आग्रह गरेको छ। दीर्घकालीन आत्मनिर्भरता र सुशासनका लागि यो निर्णय महत्वपूर्ण भूमिका खेल्ने संघको विश्वास छ। विज्ञप्तिमार्फत सबै व्यवसायी र उपभोक्तालाई संयमता अपनाई इमान्दारीपूर्वक खरिद-बिक्री गर्न र गराउन संघले अनुरोध गरेको छ। साथै सिमावर्ती क्षेत्रमा खटिएका प्रहरी प्रशासन लगायत सरोकारवाला निकायलाई भन्सार नीति कार्यान्वयनमा विशेष सहयोग गर्न आग्रह गरिएको छ। यो नीति कार्यान्वयनका क्रममा पर्न सक्ने समस्या समाधान गर्न कैलाली उद्योग वाणिज्य संघ लगायत वस्तुगत संघहरूसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता संघले व्यक्त गरेको छ। अन्तमा, सरकारको भन्सार नीति सफल बनाउन सबै किराना व्यवसायीलाई सुलभ मूल्यमा गुणस्तरीय सामान उपभोक्तासम्म पुर्‍याउन संघले अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?