धनगढी, वैशाख ११ गते । डोटीको बडीकेदार मन्दिरमा जेठ १७ र १८ गते मेला लाग्ने भएको छ । सो शिवमन्दिरमा केदारनाथ बाबा मन्दिर रूपमा पूजाआजा हुने गरेको छ । खास गरेर सन्तान नहुनेले सन्तान माग्दा सन्तान प्राप्ति हुने विश्वास गरिने सो मन्दिरमा पूजाआजा गर्न नेपालका सुदूरपश्चिम प्रदेश, कर्णालीको दैलेख र भारतको उत्तरप्रदेश तथा उत्तराखण्डका धर्मालम्बी आउने गर्छन् । मन्दिरमा कात्तिक पूर्णिमा र महाशिवरात्रिमा पनि पूजाआजा हुने र मेला लाग्ने गर्छ । बडीकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष उपेन्द्र बमका अनुसार सो मन्दिरमा बाह्रै महिना पूजाआजा गर्न पाउने व्यवस्था गर्न थालिएको छ । पूजाआजासँगै हुने मेला व्यवस्थापनका लागि आफूहरूले पूरै तयारी गरेको समितिका अध्यक्ष बमले बताउनुभयो । उहाँले मेलामा आउनेका लागि सामान्य खाना र बस्नको व्यवस्थापन हुने पनि बताउनुभयो । अहिले खाने, बस्ने राम्रो व्यवस्था छैन । चाँडै त्यो व्यवस्था गर्ने गरेर पूर्वाधार निर्माणका लागि काम गरिरहेको पनि उहाँले बताउनुभयो ।












