पेट्रोलको मूल्य २०० नाघ्यो, डिजल १८० (सूचीसहित)


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, २० चैत्र २०८२, ११:४५ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । चैत २० गते (अहिले मध्यरात) बिहानैदेखि लागू हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ । नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात् काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यी तीन ठाउँमा यसअघि डिजल र मट्टीतेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ । यस्तै पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८४ रहेकामा अब १९९ रुपैयाँ ५० पैसा पुगेको छ, भने डिजल/मट्टीतेलको मूल्य यसअघि प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर १७९ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८६ रुपैयाँ रहेकामा अहिले बढेर २०१ रुपैयाँ पुगेको छ । यस्तै त्यहाँ डिजल/मट्टीतेलको मूल्य पहिले प्रतिलिटर १६६ रुपैयाँ रहेकामा अब बढेर १८१ रुपैयाँ पुगेको छ । आयल निगमले यो मूल्य समायोजनपछि पनि १५ दिनमा ११ अर्ब ७१ करोड निगमलाई घाटा हुने जनाएको छ ।

छुटाउनुभयो कि ?