दार्चुलाको अपिहिमालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न, १५ सय भन्दा बढि नागरिक लाभान्वित


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, २० चैत्र २०८२, १०:५६ मा प्रकाशित

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिकामा सञ्चालन भएको तीन दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। अपिहिमाल गाउँपालिका र काठमाडौंको एक एक पाइला संस्थाको सयुक्त आयोजनामा खण्डेश्वरीमा सञ्चालित उक्त शिविरबाट झण्डै १६ सय नागरिक लाभान्वित भएका छन्। गाउँपालिकाका अनुसार चैत १७ देखि १९ गतेसम्म चलेको शिविरमा कुल १ हजार ५ सय ९२ जनाले स्वास्थ्य जाँच गराएका छन्। जसमा ४ सय ५७ पुरुष र १ हजार १ सय ३५ महिला रहेका छन्। दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमै विशेषज्ञ सेवा पुर्‍याउने लक्ष्यका साथ आयोजना गरिएको यस शिविरमा महिलाहरूको उपस्थिति उल्लेख्य देखिएको छ। शिविरमा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूले सेवा प्रदान गरेका थिए। तीन दिनको अवधिमा ३ हजार १९ पटक विभिन्न स्वास्थ्य परामर्श र सेवाहरू प्रवाह गरिएको थियो। पञ्चीकरण शाखाका एमआइएस अपरेटर दिपक राम टमटाका अनुसार जनरल मेडिसिनमा ४ सय ३३, आँखा रोगमा ४ सय ७८, हाडजोर्नीमा ३ सय ११ र दाँत सम्बन्धी समस्या भएका ३ सय २४ जनाको उपचार गरिएको छ। यस्तै, नाक, कान तथा घाँटी विभागबाट ३ सय १३, स्त्री तथा प्रसूति सेवातर्फ २ सय ९९ र बालरोग विभागबाट १ सय २८ जनाले सेवा लिएका छन्। विकट गाउँमै शल्यक्रियाको सुविधा समेत उपलब्ध गराइएको यस शिविरमा २९ वटा सफल शल्यक्रिया सम्पन्न भएका छन्। जसमा १९ वटा आँखाको शल्यक्रिया र १० वटा नाक, कान, घाँटी सम्बन्धी शल्यक्रिया रहेका छन्। शिविरमा ४ सय ९१ जनाको ल्याब परीक्षण र २ सय १४ जनाको भिडियो एक्सरे समेत गरिएको थियो। शिविरको समापन समारोहमा गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले सेवा प्रदान गर्न पुगेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई प्रशंसा पत्र र मायाको चिनो हस्तान्तरण गर्नुभयो। अध्यक्ष बोहराले दुर्गमका जनतालाई घरदैलोमै विशेषज्ञ सेवा दिएर गुन लगाएको भन्दै एक एक पाइला टोलीको प्रशंसा गर्नुभयो। सम्मान स्वरूप उनीहरूलाई प्रशंसा पत्रका साथै अपिहिमाल गाउँपालिकामै निर्मित स्थानीय टोपी र हाते सानो झोला प्रदान गरिएको थियो। स्थानीय श्रम र सीपबाट बनेका सामग्रीले स्वास्थ्यकर्मीहरूलाई स्वागत तथा बिदाइ गर्दा स्थानीय मौलिकताको समेत प्रवर्द्धन भएको गाउँपालिकाले जनाएको छ।

छुटाउनुभयो कि ?