लेकममा सरकारी गाडी दुरुपयोग प्रकरणः विज्ञप्ती र वास्तविकताबीच विरोधाभास, प्रश्नै–प्रश्न


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ५ चैत्र २०८२, १५:१६ मा प्रकाशित

नरेश प्रसाद जोशी/‎दार्चुला — लेकम गाउँपालिकाको सरकारी सवारी साधन दुरुपयोग प्रकरणले नयाँ मोड लिएको छ । गाउँपालिकाले जारी गरेको विज्ञप्तीले घटनालाई सामान्य देखाउन खोजे पनि सार्वजनिक प्रमाण, सम्बन्धित पक्षका भनाइ र वास्तविक अवस्थाबीच गम्भीर विरोधाभास देखिएको छ ।
‎गाउँपालिकाले मितिः २०८२ चैत ३ गते जारी गरेको विज्ञप्तीमा सवारी साधन कुनै पनि राजनीतिक कार्यकर्ता ओसार–पोसारमा प्रयोग नभएको दाबी गरेको छ । विज्ञप्ती अनुसार चैत २ गते परीक्षा अनुगमन सकेपछि सोही गाडी औषधी ढुवानीका लागि वडा नं. ५ स्थित रिठाचौपाता स्वास्थ्य चौकी पुगेको र फर्किने क्रममा स्थानीयको अनुरोधमा केही व्यक्तिलाई चढाइएको उल्लेख गरिएको छ । तर, यसअघि सोही विषयमा प्रमुख प्रशासकीय अधिकृत दीपकराज जोशीसँग बुझ्दा उनले उपाध्यक्ष कार्यक्रमस्थलसम्म गएको मात्र बताएका थिए । पछि विज्ञप्तीमा भने औषधी ढुवानीको नयाँ प्रसंग थपिएको देखिन्छ । यस्तै, उपाध्यक्ष माधवी जोशीले गाडी चालक घर फर्किने क्रममा बाटोमा मान्छे चढाइएको हुनसक्ने प्रतिक्रिया दिएकी छन् भने चालकले भने औषधी र उपाध्यक्षलाई लिएर आएको बताएका छन् । एउटै घटनामा फरक–फरक व्याख्याले सत्य लुकाउने प्रयास भएको स्पष्ट देखिन्छ ।
यसैबीच सार्वजनिक भएको भिडियोमा सरकारी गाडीमा क्षमताभन्दा बढी मानिस राखेर ओसार–पोसार गरिएको प्रष्ट देखिन्छ । भिडियोले गाउँपालिकाको दाबीलाई कमजोर बनाउँदै सरकारी साधनको प्रयोगबारे गम्भीर प्रश्न खडा गरेको छ ।
‎सरकारी सवारी साधन प्रचलित कानूनअनुसार केवल सरकारी कामकाजका लागि प्रयोग गर्न मिल्ने व्यवस्था हुँदाहुँदै, व्यवहारमा भने त्यसको उलङ्घन भइरहेको देखिन्छ । जिम्मेवार पदमा रहेका व्यक्तिहरूबाटै फरक–फरक अभिव्यक्ति आउनु र पछि विज्ञप्तिमार्फत नयाँ कथा प्रस्तुत गरिनु, घटनालाई ढाकछोप गर्ने प्रपञ्च रहेको जगजाहेर भइसकेको छ ।
‎घटनाले जनप्रतिनिधि र प्रशासनप्रति विश्वास घटाउने मात्र होइन, सार्वजनिक स्रोतको दुरुपयोगप्रति जवाफदेहिता कति कमजोर छ भन्ने समेत उजागर गरेको छ । अब आवश्यक छ । स्पष्ट, निष्पक्ष र पारदर्शी छानबिन । अन्यथा यस्ता गतिविधिले संस्थागत जिम्मेवारीलाई नै प्रश्नचिन्हमा राख्ने निश्चित छ भने जनता सधैं भ्रमित ।उक्त

गाडी चालकसँग पत्रकार नरेश प्रसाद जोशीले गरेको कुराकानी

https://www.facebook.com/share/v/1AqDGZoH3D/

हेर्नुहोस् उक्त विषयमा गाउँपालिका उपाध्यक्षसँग गरेको कुराकानी
छुटाउनुभयो कि ?