कञ्चनपुर:- कञ्चनपुरको बेलौरी नगरपालिका–६ नकैयाबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका अन्दाजी मूल्य रु. ५५,६५० बराबरका प्याज, खाने तेल, कुर्सी तथा विभिन्न भाँडाकुँडा लगायतका सामान प्रहरीले बरामद गरेको छ। बुधबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
कैलाली:- कैलालीको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा श्रीमानले भरुवा बन्दुक प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। ३० वर्षीय रामबहादुर मगरले २७ वर्षीया श्रीमती संजिता मगरसँग भएको विवादपछि बुधबार साँझ गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। घटनापछि खटिएको प्रहरी टोलीले घरदेखि करिब ३ घण्टा पैदल दूरीको जंगलमा उनलाई फेला पारेको थियो। सोही क्रममा उनले आफूलाई समेत गोली हानी गम्भीर घाइते बनाएका छन्। हाल उनको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ। प्रयोग भएको भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
कैलाली:- कैलालीको कैलारी गाउँपालिका–५ बजैपुरमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा श्रीमान–श्रीमतीको ज्यान गएको छ। ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरी गम्भीर घाइते भएका थिए। उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा सेतानुलाई चिकित्सकले मृत घोषणा गरेका थिए भने कलसुको उपचारकै क्रममा मृत्यु भएको हो। दुर्घटनामा गोरुगाडामा बाँधिएको एक गोरुको समेत मृत्यु भएको छ भने अर्को गोरु घाइते भएको छ।
ट्रक चालक धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका ३३ वर्षीय रुबिन थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











