जिप्रका कैलालीका सई बाेहरा बने ‘पुलिस अफ द मन्थ’ प्रहरी


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, २ चैत्र २०८२, ०९:४२ मा प्रकाशित

धनगढी । कैलालीमा भएको श्रीमती हत्या घटनाको अनुसन्धान र घटनास्थल सुरक्षामा सक्रिय भूमिका खेलेका एक प्रहरी अधिकृतलाई ‘पुलिस अफ द मन्थ’ सम्मान प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) सुरेश बहादुर बोहरालाई २०८२ साल फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै प्रशंसा पत्र प्रदान गरिएको हो। प्रहरीका अनुसार फागुन २४ गते राति धनगढी उपमहानगरपालिका–७ देवरीयाका डम्मरराज जोशीले आफ्नी ३० वर्षीया श्रीमती सरस्वती अवस्थी जोशीमाथि धारिलो हतियार प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेपछि सरस्वतीको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे छिमेकी गणेश साउदले राति नै टेलिफोनमार्फत प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ सई बोहराको कमाण्डमा सादा पोशाक (सोको) सहित ११ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। उक्त टोलीले घटनास्थल सुरक्षित राख्ने, प्रारम्भिक अनुसन्धान गर्ने तथा आवश्यक प्रमाण संकलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको प्रहरीले जनाएको छ। उक्त घटनामा देखाएको सक्रियता र पेशागत दक्षताको कदर गर्दै कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रबहादुर चन्दले सई बोहरालाई फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै प्रशंसा पत्र प्रदान गरेका हुन्। प्रहरीले आगामी दिनमा पनि अपराध अनुसन्धान, नियन्त्रण तथा शान्ति–सुरक्षा व्यवस्थापनमा बोहराले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

छुटाउनुभयो कि ?