धनगढी, १ चैत/ कैलाली जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ। आइतबार एक कार्यक्रमका बीच धनगढीस्थित तथ्याङ्क समन्वय कार्यालयमा आर्थिक गणना कार्यालय स्थापना गरी औपचारिक शुभारम्भ गरिएको हो। तथ्याङ्क समन्वय कार्यालय धनगढीका आर्थिक गणना अधिकारी गोविन्दप्रसाद न्यौपानेका अनुसार आर्थिक गतिविधि सञ्चालन गर्ने प्रतिष्ठानहरूको गणना गर्ने उद्देश्यले देशभरका ७७ जिल्लामा ८४ वटा आर्थिक गणना कार्यालय स्थापना गर्ने योजना अन्तर्गत कैलालीमा पनि उक्त कार्यालय स्थापना गरिएको हो। कैलाली जिल्लाका १३ वटै स्थानीय तहमा रहेका आर्थिक प्रतिष्ठानहरूको तथ्याङ्क संकलनका लागि ९४ जना गणक र १४ जना सुपरिवेक्षक परिचालन गरिने उनले जानकारी दिए। गणना कार्य वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा। हेमराज रेग्मी, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्ट, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा लगायतको उपस्थिति रहेको थियो। नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयले “अर्थतन्त्रको मापनका लागि आर्थिक गणना” भन्ने नारासहित राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन गरिरहेको छ। यस गणनाबाट देशभरका आर्थिक एकाइहरूको वास्तविक अवस्था पहिचान गर्न, उद्योग तथा व्यवसायमैत्री नीति निर्माण गर्न, आर्थिक सम्भाव्यता पहिचान गर्न, रोजगारीको अवस्था विश्लेषण गर्न तथा देशको कुल गार्हस्थ उत्पादनमा विभिन्न आर्थिक क्षेत्रको योगदान पत्ता लगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।












