कञ्चनपुरमा विवाहको दुई सातामै नवविवाहित बेहुलीको मृत फेला


हेल्लो सुदुर हेल्लो सुदुर शनिबार, ३० फाल्गुन २०८२, १४:५६ मा प्रकाशित

धनगढी – कञ्चनपुरमा विवाह भएको २ सातामै एक नवविवाहित बेहुली आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन । शुक्लाफाँटा नगरपालिका–७ कालापानीकी २२ वर्षीया विन्दु धामीको शंकास्पद अवस्थामा मृत्यु भएको हो । विन्दुको १४ फागुन २०८२ मा कृष्णपुर नगरपालिका–७ मटैयाकटानका २९ वर्षीय भीम धामीसँग मागीविवाह भएको थियो । विवाह भएको करिब १४ दिनपछि, अर्थात् २७ फागुनमा उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन् । मृतककी हजुरआमा तारा धामीले विवाहको खुसी मनाउन नपाउँदै नातिनीको शंकास्पद मृत्यु भएको बताइन् । उनका अनुसार परिवारले परम्पराअनुसार धुमधामका साथ विवाह गरिदिएको थियो । उनले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग गरिन् । विन्दु कक्षा १२ अध्ययनरत रहँदै ब्युटी पार्लरको तालिम लिइरहेकी थिइन् । माइती पक्षका अनुसार कुटुम्ब माग्न आएपछि धार्मिक परम्परा अनुसार विवाह गरिएको थियो । तर विवाह भएको छोटो समयमै मृत फेला परेको घटनामा श्रीमानमाथि शंका लागेको उनीहरूको दाबी छ । मृतकका हजुरबुबा प्रेमसिंह धामीले घटनालाई रहस्यमयी बताएका छन् । उनले नातिनीको योनीमा रगत देखिएको भन्दै घटना शंकास्पद रहेको बताए । इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज राजेश बस्नेतका अनुसार घटनाबारे अनुसन्धान जारी छ । शवको पोस्टमार्टम भइसकेको र यसको रिपोर्ट आइतबारसम्म आउने अपेक्षा गरिएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?