नवनिर्वाचित सांसद बोहराको प्रतिबद्धतापछि शुक्लाफाँटा आरक्ष विस्थापितले तोडे अनशन


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, २६ फाल्गुन २०८२, ११:४० मा प्रकाशित

धनगढी: शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारले पुनःस्थापनाको माग राख्दै सुरु गरेको अनशन २१० दिनअघि आज अन्त्य गरेका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दीपकराज बोहराको उपस्थितिमा विस्थापित परिवारले अनशन तोडेका हुन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित बोहराले विस्थापित परिवारको स्थायी बसोबासको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि विस्थापित परिवारले अनशन अन्त्य गरेका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन शुक्लाफाँटा आरक्ष) विस्तारका क्रममा विस्थापित भएका परिवारले विगत लामो समयदेखि पुनःस्थापनाको माग गर्दै आन्दोलन गर्दै आएका थिए । पछिल्लो समय विस्थापित परिवार कृष्णपुर नगरपालिका–२ वनहरा नजिक सडक छेउमा पाल टाँगेर निरन्तर अनशनमा थिए । उनीहरूले सरकार तथा सरोकारवाला निकायलाई समस्या समाधानका लागि दबाब दिँदै आएका थिए । बोहराले विस्थापित परिवारको समस्या गम्भीर रहेकाले यस विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले विगतमा गठन भएका विभिन्न आयोगले तयार पारेका प्रतिवेदन अध्ययन गरेर पुनःस्थापनाका लागि ठोस पहल गर्ने बताए । ुतपाईंहरूका समस्या धेरै वर्षदेखि समाधान हुुनुपर्ने थियो, भएनु, उनले भने, तपाईहरूसँग थप छलफल, अन्तर्क्रिया गरेर समाधानको बाटो खोज्नेछु । सडकछेउमा बसेर अनशन गर्दा दुर्घटनाको जोखिमसमेत रहेको उल्लेख गर्दै उहाँले अनशन तोड्न आग्रह गरे । अनशन तोड्ने क्रममा आरक्ष विस्थापित संघर्ष समितिका अध्यक्ष प्रेमदत्त भट्टले नवनिर्वाचित सांसद बोहरामाथि विश्वास गरेर आफूहरूले अनशन अन्त्य गरेको बताए । हामीले तपाईंलाई भरोसा गरेर संसदमा पठाएका छौँ, उनले भने, विगतका सांसद र सरकारहरूले देखाएकोजस्तो व्यवहार दोहोरिनुहुँदैन भन्ने हाम्रो अपेक्षा छ । भट्टले आरक्ष विस्थापितको समस्या समाधान गर्न हालसम्म ३४ वटा आयोग गठन भए पनि ठोस उपलब्धि हासिल हुन नसकेको बताए । उनका अनुसार विस्थापित परिवारको पुनःस्थापनामा कहिले वन ऐनले अवरोध गरेको बहाना देखाइयो भने कहिले सरकारको अस्थिरताका कारण समस्या समाधान हुन नसकेको बताइयो । उनले आफूहरू विस्थापित हुनुअघि पाँच बिघा जमिनका मालिक रहेको स्मरण गर्दै अहिले घरवारविहीन अवस्थासम्म आइपुगेको दुःखेसो पोखे । विस्थापित परिवारका अनुसार हालसम्म दुई हजार ४७३ परिवार विभिन्न शिविरमा बस्दै आएका छन् । उहाँहरू स्थायी पुनःस्थापनाको प्रतीक्षामा वर्षौंदेखि कठिन जीवन बिताउन बाध्य छन् ।

छुटाउनुभयो कि ?