धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७ देवहरियामा ३० वर्षीया सरस्वती अवस्थी जोशी आफ्नै घरमा मृत फेला परेपछि उक्त घटना अहिले चर्चामा छ। शनिबार राति टाउकोमा गम्भीर चोट लागेको अवस्थामा उनको शव घरभित्रै भेटिएको थियो। घरभरि रगत देखिएको र शवको प्रकृति हेरेपछि प्रहरी प्रारम्भिक रूपमा यो घटना हत्या भएको निष्कर्षमा पुगेको थियो। घटनापछि उनका श्रीमान् डम्मरराज जोशी फरार भएका थिए। त्यसैले प्रहरीले सुरुदेखि नै उनैमाथि आशंका गरेको थियो। आइतबार बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको छ। प्रारम्भिक सोधपुछका क्रममा उनले आफूले नै श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस घटनापछि सरस्वतीका दुई सन्तान बिचल्लीमा परेका छन्। नौ वर्षीया छोरी र पाँच महिने छोरालाई सम्हाल्न अहिले आफन्तहरू प्रयासरत छन्। आमाको मृत्यु र बुबा प्रहरी हिरासतमा रहेको अवस्थामा ती बालबालिकाले ठूलो मानसिक आघात झेलिरहेका छन्। नौ वर्षीया बालिका आफ्ना नवजात भाइलाई काँखमा च्यापेर सम्हाल्ने प्रयास गरिरहेको दृश्यले धेरैलाई भावुक बनाएको छ। तर घटनापछि केही युट्युबर र अनलाइन मिडियाले नाबालिका छोरीसँग अन्तर्वार्ता लिएको विषयले विवाद सिर्जना गरेको छ। विभिन्न मिडियाले दुधे भाइलाई काँखमा बोकेर बसेकी बालिकासँग घटनाबारे प्रश्न सोध्दै भिडियो अन्तर्वार्ता सार्वजनिक गरेका छन्।
‘दुधे भाइलाई काखमा राख्दै घटनाबारे भन्दै नौ वर्षीया छोरी, आमालाई बोलाउँदा बोल्नुभएन’ शीर्षकमा एक मिडियाले भिडियो सार्वजनिक गरेको छ। भिडियोमा बालिकालाई ‘के भएको हो’, ‘कसरी घटना भयो’, ‘कुन हतियार प्रयोग भयो’ जस्ता प्रश्न सोधिएको देखिन्छ। पाँच महिने बालकलाई समेत भिडियोमा देखाइएको छ। यस्ता गतिविधिप्रति सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ता शान्ती पन्तले यस्तो कार्य असंवेदनशील भएको टिप्पणी गरेकी छन्। उनले लेखेकी छन्, “हातमा माइक र क्यामरा बोकेर विभिन्न व्यक्तिहरूले मृतकको नाबालक छोरीसँग बाबाले कसरी मारे भनेर प्रश्न गर्दा त्यसले बालिकाको मनमा कस्तो असर पर्छ भन्ने सोचिएको देखिँदैन।”
स्थानीय बासिन्दाले पनि यस्ता गतिविधिको विरोध गरेका छन्। स्थानीय आरती जोशीका अनुसार नाबालिकालाई घटनाबारे स्पष्ट थाहा नभए पनि युट्युबरहरूले बारम्बार प्रश्न गरेर उनलाई थप पीडा दिएको बताएका छन्। “उनी अर्धचेत अवस्थामै छिन्, तर युट्युबरहरूले जे पायो त्यही प्रश्न गरिरहेका छन्। न्याय दिनुको सट्टा आँसुको व्यापार भइरहेको छ,” उनले भनिन्। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले पनि नाबालिकालाई मिडियामा ल्याइनु गलत भएको बताएका छन्। यस्ता गतिविधिबारे उजुरी परे कानुनी कारबाही गरिने उनले बताए। स्थानीयका अनुसार आरोपी डम्मरराज जोशीको मानसिक अवस्था कमजोर रहेको बताइन्छ। शनिबार राति घरबाहिर जाने विषयमा श्रीमान–श्रीमतीबीच विवाद भएको थियो। सरस्वतीले उनलाई रोक्न खोज्दा झडप भएको र त्यस क्रममा डम्मरको हातमा चोट लागेको बताइएको छ। त्यसपछि रिसको झोकमा उनले घरमा पानी तान्न प्रयोग हुने मोटरले प्रहार गर्दा सरस्वतीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।












