सुदूरपश्चिममा कांग्रेसको धराशायी : ८ सिटबाट खुम्चिँदै ३ मा सीमित


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, २६ फाल्गुन २०८२, ११:१६ मा प्रकाशित

धनगढी , २६ फागुन / सुदूरपश्चिम प्रदेशको प्रतिनिधि सभा निर्वाचन परिणामले नेपाली कांग्रेसको राजनीतिक आधार कमजोर बन्दै गएको स्पष्ट संकेत दिएको छ। २०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ८ सिट जितेर प्रदेशको पहिलो शक्ति बनेको कांग्रेस २०८२ को निर्वाचनसम्म आइपुग्दा ठूलो क्षति बेहोर्दै ३ सिटमा सीमित भएको छ। सुदूरपश्चिमका कुल १६ प्रतिनिधि सभा क्षेत्रमध्ये यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १० सिट जित्दै प्रदेशमा नयाँ शक्ति रूपमा उदाएको छ। यस उदयले सबैभन्दा ठूलो क्षति कांग्रेसलाई परेको देखिन्छ। अघिल्लो निर्वाचनमा कांग्रेसले दार्चुला, बाजुरा, अछाम–२, डडेल्धुरा, कञ्चनपुर–२, कञ्चनपुर–३, कैलाली–४ र कैलाली–५ गरी ८ क्षेत्रमा जित हात पारेको थियो। तर पछिल्लो निर्वाचनमा तीमध्ये अधिकांश क्षेत्र कांग्रेसले गुमाएको छ। बाजुरा बाहेक अघिल्लो पटक जितेका सबै क्षेत्रमा कांग्रेस पराजित भएको छ। यद्यपि कांग्रेसले अछाम–१ र डोटीमा नयाँ जित निकाल्दै कुल ३ सिट सुरक्षित गर्न सफल भएको छ। कांग्रेसले गुमाएका ७ क्षेत्रमध्ये ५ क्षेत्रमा रास्वपाले विजय हासिल गरेको छ भने २ क्षेत्रमा नेकपा एमाले विजयी भएको छ। रास्वपाले डडेल्धुरा, कञ्चनपुर–२, कञ्चनपुर–३, कैलाली–४ र कैलाली–५ मा कांग्रेसलाई पराजित गर्दै आफ्नो प्रभाव विस्तार गरेको हो। त्यस्तै एमालेले दार्चुला र अछाम–२ मा कांग्रेसको पुरानो वर्चस्व तोड्दै जित निकालेको छ। दार्चुलामा एमालेका गणेशसिंह ठगुन्नाले कांग्रेसका धर्मानन्द जोशीलाई पराजित गर्दै अघिल्लो निर्वाचनको हारको बदला लिएका छन्। अछाम–२ मा पनि एमालेका यज्ञबहादुर बोगटीले कांग्रेसका पुष्पबहादुर शाहलाई हराउँदै जित हात पारेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार सुदूरपश्चिममा कांग्रेसको मताधार क्रमशः कमजोर हुँदै गएको संकेत यस परिणामले दिएको छ। विशेषगरी रास्वपाको उदयले कांग्रेसको पारम्परिक आधार क्षेत्रमा ठूलो प्रभाव पारेको देखिन्छ। यसरी सुदूरपश्चिममा कांग्रेसले पुरानो प्रभाव गुमाउँदै जाँदा नयाँ राजनीतिक शक्तिको उदयले प्रदेशको राजनीतिक समीकरण नै फेरिएको छ।

छुटाउनुभयो कि ?