धनगढी: सुदूरपश्चिमका राना थारु बस्तीहरूमा परम्परागत होरी पर्वको रौनक छाएको छ। विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारु समुदायले मनाउने यो मौलिक पर्व एक महिना आठ दिनसम्म मनाइने परम्परा रहेको छ। यस वर्ष प्रतिनिधिसभा निर्वाचनका कारण केही समय रोकिएको होरी पर्व अहिले पुनः सञ्चालन भएसँगै गाउँ–टोलमा नाचगान, बाजागाजा र सामूहिक सहभागितासहित उत्साहपूर्वक मनाउन थालिएको छ। राना थारु समुदायमा होरी पर्वका आफ्नै विशिष्ट परम्परा र चरणहरू रहेका छन्। पर्वको सुरुवाती चरणमा ‘जिन्दा होरी’ मनाउने चलन रहेको छ। माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म करिब १५ दिनसम्म रातिको समयमा ढोल–मादलको तालमा सामूहिक रूपमा होरी नाच नाच्दै जिन्दा होरी मनाइन्छ। यस अवधिमा गाउँका युवायुवतीदेखि वृद्धवृद्धासम्म सहभागी भई गीत–संगीतसहित सामूहिक रमाइलो गर्ने परम्परा रहेको छ। फागुन पूर्णिमाको दिन होलिका दहन सम्पन्न भएपछि भने ‘मरी होरी’ सुरु हुन्छ। मरी होरी आठ दिनसम्म चल्ने गर्दछ। यस अवधिमा राना थारु समुदायका पुरुष तथा महिलाहरू मौलिक पहिरन लगाएर दिउँसोको समयमा समूह बनाएर गाउँ–टोल घुम्दै होरी नाच प्रस्तुत गर्ने चलन छ। यसरी गाउँका घर–घरमा पुगेर नाचगान गर्ने परम्पराले समुदायबीचको आत्मीयता र एकतालाई अझ बलियो बनाउने विश्वास गरिएको छ। मरी होरीको अन्तिम दिनलाई ‘खख्डेहरा’ भनिन्छ, जसलाई विशेष महत्वका साथ मनाइन्छ। स्थानीय मनोज कुमार रानाका अनुसार राना थारु समुदायले असत्यमाथि सत्यको विजय भएको खुशीयालीमा होरी पर्व मनाउने गरेका छन्। “यो हाम्रो पुरानो परम्परा हो, यसले समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउँछ,” उनले बताए। खख्डेहराको दिन बिहानै गाउँका मानिसहरू भेला भएर खख्डेहरा फुटाउने चलन रहेको छ। खख्डेहरा फुटाएपछि एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको औपचारिक समापन हुने गर्दछ। त्यसपछि आफन्त, मित, मितिनी तथा इष्टमित्रलाई घरमा बोलाएर विभिन्न परम्परागत मिठा परिकार खुवाउने चलन रहेको स्थानीय पति रानाले जानकारी दिए। यद्यपि खख्डेहरा फुटाएर होरीको औपचारिक समापन गरिए पनि ‘चराइँ’ पर्व मनाएपछि मात्रै पूर्ण रूपमा होरी सेलाउने परम्परा रहेको बताइन्छ। चैत महिनामा मनाइने चराइँ पर्व सम्पन्न भएपछि मात्र होरी पर्व पूर्ण रूपमा अन्त्य हुने गर्दछ। राना थारु समुदायको यो पर्व केवल रमाइलो र उत्सवमा सीमित नभई सांस्कृतिक पहिचान र सामुदायिक एकताको प्रतीकका रूपमा स्थापित भएको छ। पुस्तौंदेखि चल्दै आएको यस मौलिक परम्पराले सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई अझ समृद्ध बनाउँदै आएको स्थानीयहरू बताउँछन्। राना थारु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले परम्परागत पोशाक, नाचगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा स्थानीय तहले पनि सहयोग गरिरहेको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले बताइन्। यसैबीच, राना थारु समुदायको महत्वपूर्ण ‘खख्डेहरा’ पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले फागुन २६ गते सार्वजनिक बिदा समेत दिएको छ। यसले समुदायको मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।












