दार्चुला । निर्वाचन सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुला को आग्रहअनुसार जिल्लामा १ सय ६० थान इजाजतप्राप्त हातहतियार प्रहरीमा बुझाइएको छ। गत माघ महिनामा प्रशासनले आफूसँग रहेका हातहतियार अनिवार्य रूपमा प्रहरीमा बुझाउन सूचना जारी गरेको थियो।
जिल्ला प्रहरी कार्यालय दार्चुला का सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार सङ्कलित हातहतियार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइमा सुरक्षित रूपमा राखिएको छ। यस्तै, जिल्लामा हातहतियार राख्नका लागि ८ सय ४८ वटा इजाजतपत्र जारी भएकामध्ये ९८ वटाको लगत कट्टा भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी विनोद दाहालले जानकारी दिनुभयो। हाल ७ सय ५० वटा इजाजतपत्र कायम रहेका छन्। तीमध्ये चालु आर्थिक वर्षमा १ सय ७४ वटा हातहतियारको नवीकरण गरिएको छ। नवीकरण भएका १ सय ७४ हातहतियारमध्ये ८ वटा बैंक तथा वित्तीय संस्थाले प्रयोग गरिरहेका कारण ती बुझाउन नपर्ने स्पष्ट पारिएको छ। बैंक तथा वित्तीय संस्थासँग रहेका ८ थान बाहेक नवीकरण भएका ६ थान हातहतियार भने अझै बुझाइएको छैन।
प्रहरीले हातहतियार सङ्कलन कार्यलाई निरन्तरता दिएको जनाएको छ। सङ्कलित हातहतियार निर्वाचन अवधिभर सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने प्रहरीले जनाएको छ।












