धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह ले सुदूरपश्चिमबाट चुनावी अभियान सुरु गर्दै फागुन २१ को निर्वाचनलाई “इतिहास लेख्ने अवसर” का रूपमा लिन मतदातासँग आग्रह गरेका छन्। धनगढीमा आयोजित परिवर्तन उद्घोष सभामा बोल्दै नेताद्वयले परम्परागत दलमाथि तीखा टिप्पणी गरे भने रास्वपाले काममार्फत विश्वास जित्ने प्रतिबद्धता जनाए। सभामा बालेन शाहले पूर्वाधार विकासको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘खल्तीमा पैसा नभएको विपन्नले शिक्षा पाउनुपर्यो, त्यो हो हाम्रो एजेन्डा । विपन्न गरिबले स्वास्थ्य उपचार पाउनुपर्यो । दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बनेन, डेढ वर्षमा बन्नुपर्यो, हो हाम्रो एजेन्डा ।’
उनले थपे, ‘रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ, खोरमा जाकेर हुन्छ बाटो बन्नुपर्यो । यहाँ त यो भेगमा मेरो भोट छैन बाटो किन बनाउने ? राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ । एमाले हिँड्ने बाटो पनि बनाउँछ । माओवादी हिँड्ने बाटो पनि बनाउँछ । सबै हिँड्ने बाटो बनाउँछ ।’
स्वीट्जरल्याण्डसँग तुलना गर्ने राजनीतिक भाष्यप्रति प्रश्न उठाउँदै उनले भने, ‘स्वीट्जरल्याण्डको बाउ बडिमालिका यही छ, किन बनाउनुपर्यो स्वीट्जरल्याण्ड ? स्वीट्जरल्याण्डको पराकाष्ठा रामारोसन यही छ, किन बनाउनुपर्यो स्वीट्जरल्याण्ड ? खप्तड नेसनल पार्क यही छ, किन बनाउनुपर्यो स्वीट्जरल्याण्ड ? हामी नेपाली माल भएको चाल नपाएको मान्छे पर्यौं । भएको चीज देखाउनै सकेको छैनौं ।’
रास्वपा भोट माग्न नभई काम माग्न आएको भन्दै उनले भने, ‘तपाईंसँग भोट माग्न आएको होइन । काम माग्न आएको हो काम दिनोस् । तपाईंले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ ।’ कार्यक्रमको अन्त्यतिर सभापति रवि लामिछानेले पनि छोटो सम्बोधन गर्दै भने, ‘मत पत्रमा छाप लगाउने २१ गते हो तर मनपत्रमा छाप लागिसकेको छ । जनताको अधिकार, सुदूरपश्चिमको मुद्दालाई माग बनाएर वर्षौंसम्म नहुने काम अब बन्द गर्नुपर्छ । सटर त एउटा बन्द हुनुपर्छ कि हाम्रो बन्द गराइदिनुस् कि यिनीहरूको बन्द गराइदिनुस् । कुशासनको सटर बन्द गर्ने हो, बेथितिको सटर बन्द गर्ने हो । बेरोजगारी, अशिक्षा सबै सटर बन्द गर्ने हो २१ गते, इतिहास लेख्ने हो भोट हाल्ने होइन ।’ भूमिहीनका मुद्दा वर्षौंदेखि भोट बैंकका रूपमा प्रयोग भएको आरोप लगाउँदै उनले भने, ‘यहाँ भूमिहीनको समस्या आएका छन् । कैयौँ साथीहरूले ती समस्यालाई वर्षौँसम्म एजेन्डा बनाएर राखेका छन् । त्यसलाई भोट बैंक बनाउने गरेका छन् ।’ जनतासँग करारको राजनीति सुरु गरेको दाबी गर्दै लामिछानेले थपे, ‘नेताले वाचा गर्ने तर सजाय त्यही भोट दिने जनताले पाउने ? अब यस्तो चल्दैन । वाचा जसले गर्ने हो पूरा नगर्ने हो भने सजाय त्यसैले पाउने हो । जनताले सजाय पाउने होइन । विदेशमा रहेका सुदूरपश्चिमेलीलाई घर फर्केर मतदान गर्न आह्वान गर्दै उनले भने, ‘यसपटक देश बदल्नुपर्नेछ । यो देशमा पहिला पनि चुनाव भएको हो । कुनै पार्टीले चुनाव जितेको हो । कुनै नेताले सधैं जितेको हो । तर जनताले कहिल्यै जितेनन् । योपटक जनतालाई जिताउने हो ।’ सिंहदरबार प्रकरणबारे उनले भने, ‘यहाँ धेरैले सिंहदबार जलेको कुरा मात्र गरेका छन् । सिंहदरबार जलेको छ भने बनाउने हो तर योपटक सिंहदरबार बदल्ने हो ।’ सुदूरपश्चिमलाई लामो समयदेखि परम्परागत दलको प्रभाव क्षेत्र मानिँदै आएको छ। यस्तो पृष्ठभूमिमा रास्वपाले यही भूगोलबाट अभियान थालेर चुनावी प्रतिस्पर्धालाई नयाँ मोड दिन खोजेको सन्देश दिएको छ।













