धनगढी डान्स च्याम्पियनसिपको उपाधि परिधि र सुशान्तलाई


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, २७ पुष २०८२, १४:२२ मा प्रकाशित

हेल्लो समाचारदाता
धनगढी २७ पौष । धनगढी डान्स च्याम्पियनसिप सिजन चारको उपाधी परिधी र सुशान्तले जितेका छन् । धनगढी उपमहानगरपालिका–५ तारानगर स्थित वैभव पार्टी प्यालेसमा सम्पन्न ग्राण्ड फिनालीमा ७ जना प्रतिस्पर्धिलाई उछिन्दै परिधि र सुशान्तले विजयश्री हात पारेका हुन् ।
धनगढीको वाल्मीकि इन्टरनेसनल स्कुलमा कक्षा ५ मा अध्ययनरत परिधि दहाल र कृष्णनगर नगरपालिकाका सुसान्त धामी ग्राण्ड फिनालीमा भोटिङमा ड्र भएपछि दुबै प्रतिस्पिर्धीलाई विजयी घोषणा गरेका हुन् ।
दुवैजनाले नगद दुई लाख ११ हजार एक सय ११ र आकर्षक ट्रफी प्राप्त गरे । त्यस्तै फस्ट रनरअप धनगढीका हनिस मौनी भएका छन् । उनले नगद एक लाख ११ हजार एक सय ११ र आकर्षक ट्रफी पनि जितेका छन् । सात वर्षीय मौनी धनगढी उपमहानगरपालिका–८ शिक्षानगर स्थित कैलाली विद्या निकेतन कक्षा १ मा अध्ययनरत छन् ।
च्याम्पियनसिपको सेकेन्ड रनरअप तनुजा थापा भएकी छिन् । उनले नगद ६१ हजार एक सय ११ र आकर्षक ट्रफी प्राप्त गरिन् । थापा धनगढीको चैतन्य पाठशालामा कक्षा ११ मा अध्ययनरत छन ।
द टुइन्स डान्स स्टुडियो धनगढीको आयोजनामा ५ वर्ष अगाडि प्रारम्भ भएको धनगढी डान्स च्याम्पियनसिप सुदूरपश्चिमको सबैभन्दा लोकप्रिय डान्स रियालिटी सो हो । ग्राण्ड फिनालेमा स्पेशल गेस्टको रूपमा डान्सर तथा कोरियोग्राफर सुनिल क्षेत्री रहेका थिए । क्षेत्रीले आकर्षक नृत्यमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिलाएका थिए । उक्त ग्राण्ड फिनालेमा सुदूरपश्चिममै चर्चित समीर, धिरेन र अछामी रेखाको समेत प्रस्तुति रहेको थियो ।
द टुइन्स डान्स स्टुडियोका निर्देशक केशब बलायरको अध्यक्षता एबं सुदूरपश्चिम प्रदेश सभा सदस्य डम्मरी महरा (रक्षा)को प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा कांग्रेस नेता भीम पडाल, पुष्पा भट्ट प्याब्सनका केन्द्रीय सदस्य टोपेन्द्र शाह, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष मेखराज दहाल, कैलाली उद्योग वाणिज्य संघका सचिव प्रकाशकुमार चन्द लगायतको आतिथ्य रहेको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै महराले सुदूरपश्चिम प्रदेशमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराउँन यस्ता कार्यक्रमले अहम भुमिका खेल्ने बाताइन् । सरकार यस्ता कार्यक्रमलाई सम्बद्र्धन तथा प्रबर्धन गर्ने कुरामा पछि रहेकोसमेत जिकिर गरिन् । दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको सञ्चालन वरिष्ठ उद्घोषक गुणाकर पनेरुले गरेका थिए ।

छुटाउनुभयो कि ?