पत्रकारमाथि दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, २४ पुष २०८२, १०:२५ मा प्रकाशित

धनगढी, पुस २३/ नेपाल पत्रकार महासंघ कैलाली शाखाले धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गरेको छ । महासंघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार धनगढीबाट प्रसारित एटीएस टेलिभिजनका संवाददाता उषा किरण ज्योति र लक्ष्मण ढुङ्गालले बुधबार अपराह्न धनगढीस्थित गेटास्थित सडक खण्डमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको क्रममा भिडिओ खिचिरहेका बेला उनीहरूमाथि दुर्व्यवहार भएको हो ।
तीन जना सवार रहेको एक मोटरसाइकललाई ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको दृश्य पत्रकारले सार्वजनिक स्थलमै खिचिरहेका बेला ट्राफिक प्रहरी हवल्दार डेबिट श्रेष्ठले पत्रकारको मोबाइल नियन्त्रणमा लिई भिडिओ डिलिट गर्न खोजेको विज्ञप्तिमा उल्लेख छ ।
महासंघले पत्रकारले स्वतन्त्र रूपमा समाचार संकलन गर्न पाउने हक संवैधानिक मौलिक अधिकार भएको स्मरण गराउँदै सो अधिकारमाथि हस्तक्षेप गर्नु निन्दनीय कार्य भएको जनाएको छ । विज्ञप्तिमा पत्रकारमाथि भएको दुर्व्यवहारमा संलग्न ट्राफिक प्रहरी अधिकारीमाथि आवश्यक छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।
नेपाल पत्रकार महासंघ कैलाली शाखाका सचिव तेजराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायलाई सचेत रहन आग्रह गरिएको छ।

छुटाउनुभयो कि ?