१३ लाखभन्दा बढी नक्कली नेपाली नोटसहित चार जना पक्राउ


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १६ जेष्ठ २०८१, १७:५२ मा प्रकाशित

हेल्लो संवाददाता
जनकपुरधाम, १६ जेठ
बारा प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली नोट बनाउने गिरोहका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीयसहित चारजना छन् ।
बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरेको उनीहरूलाई बुधबार सार्वजनिक गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।
प्रहरी नायव उपरीक्षक न्यौपानेका अनुसार पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका–६ का २५ वर्षीय राजन चौधरी, वडा नम्बर ५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका–१ का १९ वर्षीय मोहनकुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा–७ का ४० वर्षीय मोहमद आलम रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको छ भने ना ३४ प ३५१२ र बी. आर. ०६ ए. डब्लु २७५८ नम्बरको मोटरसाइकल र साइकल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

छुटाउनुभयो कि ?